फोरम अध्यक्षलाई किन दले कार्यकर्ताले कालोमोसो ?

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १:२५ मा प्रकाशित

सप्तरी, २० कात्तिक– मधेसी  जनअधिकार फोरम, नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादवलाई राजविराजस्थित पार्टी कार्यालयमै कार्यकर्ताहरुले कालोमोसो दल्दै दुर्व्यवहार गरेका छन् ।
उक्त समूहले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै कागजातहरुसमेत जलाइदिएको छ ।  अध्यक्ष यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेको र सप्तरीका ६ वटै क्षेत्रीय समिति तथा विभिन्न भ्रातृ संगठनहरु विघटन गरेको भन्दै आक्रोशित युवा कार्यकर्ताले बुधबार कालोमोसो दल्नुका साथै हातपात गरेका हुन् ।

सप्तरी कार्यसमितिका उपाध्यक्ष रहेका यादवलाई केन्द्रीय कार्यसमितिले जिल्ला अध्यक्षको जिम्मेवारी दिएदेखि नै विवाद बढ्दै गएको पार्टी स्रोतले बताएको छ ।

पार्टीका सप्तरी सचिव उमेश यादवले बुधबार विज्ञप्तिमार्फत पार्टी कार्यालयमा आक्रमणसँगै अध्यक्षमाथि दुर्व्यवहार भएको जनाएका छन् ।

जिल्लास्थित विभिन्न मधेसवादी दलहरुको सहभागितामा गठन भएको संघीय गणतान्त्रिक मोर्चाको बैठक बोलाएको थियो , उनले विज्ञप्तीमा भनेका छन्, सोही बखत युवा तथा विद्यार्थीहरुको समूह पार्टी कार्यालय प्रवेश गरी आगजनी र तोडफोड गर्योु, उक्त क्रममा पार्टीका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us