राजधानीका नाकामा द्वन्द्वकाल सम्झाउने चेकिङ

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १:१६ मा प्रकाशित

nepal_policeकाठमाण्डु, २० कात्तिक– आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ ।
बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई प्रहरीले उपत्यका छिर्ने नाकामा द्वन्द्वकालको झल्को आउने गरी चेकिङ गर्न थालेको छ । प्रहरीले नागढुंगा, फर्पिङ, जागती र बालाजु नाकामा सवारीसाधनबाट सबै यात्रुलाई झारेर चेकिङ गर्न थालेको हो ।

तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले बसमा खानतलासी गर्नुका साथै शरीर जाँच गर्छ । सर्वसाधारणले भने सुरक्षाका नाममा प्रहरीले दु:ख दिएको गुनासो गर्न थालेका छन् ।

सार्क सम्मेलनको सुरक्षालाई चुस्त बनाउन कडाइका साथ चेकिङ गर्नुपरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए । खास गरी तराईका जिल्लाबाट राजधानी आउने बसहरुमा प्रहरीले बढी निगरानी राख्ने गरेको छ ।

थानकोट प्रहरी वृत्तका डिएसपी प्रवीण धितालले सबै बसहरुमा चेकिङ हुने, तर तराईका जिल्लाबाट आउने बसमा थप निगरानी राखिएको बताए । चेकिङकै लागि महानगरीय प्रहरी आयुक्त कार्यालयले थानकोट वृत्तमा थप २० प्रहरी खटाएको छ । फर्पिङ, जागती र बालाजु पनि प्रहरीले जनशक्ति बढाएको छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us