एमाओवादी सिफारिसमा सभासद् भएका श्रेष्ठ भन्छन्– सहमति नहुनुमा प्रचण्ड नै दोषी !

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १३:०६ मा प्रकाशित

Shyam-Shrestha_20140614091351काठमाण्डु, १९ कात्तिक– एमाओवादीको सिफारिसमा सभासद् बनेका नागरिक समाजका अगुवा तथा वामपन्थी विश्लेषक श्याम श्रेष्ठले राजनीतिक सहमति नहुनुमा एमाओवादी अध्यक्ष प्रचण्ड नै जिम्मेवार भएको भन्दै चर्को आलोचना गरेका छन् । उनले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्ण सिटौलाको भूमिकाको पनि आलोचना गरे ।
‘गिरिजाप्रसादपछि सबैलाई समेट्ने जिम्मा प्रचण्डकै हो तर बाहिर बाहिर बोल्ने, भित्र सहमतिमा जानुपर्ने ठाउँमा केही नबोल्ने,’ सिंहदरबारमा आयोजित छलफलमा सभासद् श्रेष्ठले भने, ‘मैले तीन हप्तादेखि हेरिरहेको छु, प्रचण्डजीले खासै समय दिनुभएको पनि छैन, पहलकदमी लिनुभएको पनि छैन ।’
श्रेष्ठले सहमति नहुनमा सबैभन्दा दोषी कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेका ओली पनि भएको आरोप लगाए । सिटौलाबाहेक अरु नेता सात प्रदेशको मामिलामा लचिलो भएको श्रेष्ठको दाबी छ ।
‘ओली पनि नबदलिने पोजिसनमा हुनुहुन्छ, सिटौला पनि नबदलिने पोजिसनमा’, उनले भने, ‘एमाले उपाध्यक्ष विद्या भण्डारी, प्रदीप ज्ञवालीहरु भने सहमति गरेर जान तयार हुनुहुन्छ ।’
सभासद् बनेपछि श्रेष्ठ सहमतिका लागि केही दिनदेखि निरन्तर राजनीतिक नेतृत्वसँग छलफल गर्दै आएका छन् । उनले आफू एमाओवादी कोटामा सभासद् सिफारिस भए पनि पार्टीभन्दा माथि उठेर सहमतिका लागि काम गर्ने बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us