कहाँ के गर्दैछिन् केपी ओलीकी सानु ?

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १३:०५ मा प्रकाशित

काठमाण्डु – धेरैलाई लाग्छ कि एमाले अध्यक्ष केपी ओली निकै रुखो स्वभावका मानिस छन् । उनका कठोर र कटु राजनीतिक बाणीहरु सुनेर मानिसहरु भन्न सक्छन् कि ओलीको मनमा दया, माया, करुणा र भावनाका लागि कुनै ठाउँ नै छैन । तर यथार्थ भने त्यो भन्दै निकै बेग्लै छ । ओली बाहिर जे छन् भित्र त्यो छैनन् र भित्र जे छन् बाहिर त्यो छैनन् । उनको भित्री र बाहिरी मान्छेमा आकास पातालको अन्तर छ ।

KP Oli

प्रसंग हो केपी ओलीको संगीत मोह । सामान्तयता साहित्य वा संगीतले मोहित हुने मानिस खराब हुँदैनन्, मायालु हुन्छन् र अरुको दुःख बुझ्न सक्छन् भन्ने आममानिसको बुझाइ रहने गरेको छ । ओली प्रायः गीतहरु सुनिरहन्छन् । त्यतिमात्र होइन आफ्नै तालमा गुन्गुनाउँछन् र फुर्सद मिलेका बेला वा लहड चलेका बेला घरमा वाद्यवादनका साधन बजाएर बस्छन् । उनका प्रेस सहयोगी प्रमोद दाहालका अनुसार ओलीले मादल, हार्मोनियम, गितार, बाँसुरीजस्ता वाद्यवादनका साधन घरमा सजाएर राखेका छन् । दाहालले ओली निकै भावुक र संगीतप्रेमी व्यक्ति भएको काठमाण्डु टुडेलाई बताए ।

‘उहाँमा संगीतप्रति अत्यन्तै धेरै लगाब छ’, दाहालले भने, ‘समय मिल्ने बित्तिकै गाउन र बजाउन तम्सिहाल्नुहुन्छ ।’ अध्यक्ष ओलीले कम्तीमा वर्षमा एकपटक संगीतकारहरु घरमा बोलाएर गीत गाउन लगाउने र रमाइलो गर्ने गरेका छन् । यस्तै छिमेकका वा पार्टी कार्यकर्ताका छोराछोरी घरमा आएका बेला उनीहरुसँग रौसिने गर्छन् । बालबालिका घरमा आउने बित्तिकै गीत गाउन लगाएर आफू मादल वा हार्मोनियम बजाउने ओलीको स्वभाव छ ।

स्रोतका अनुसार ओली नेपाली लोकगीत, आधुनिक गीत, शास्त्रीय गीतका साथै हिन्दी चलचित्रका गीतहरु सुन्न रुचाउँछन् । झापा आन्दोलनका नायक ओली जनवादी धाराका प्रगतिशील गीत भने कमै सुन्ने गर्छन् । गाडी चड्ने बित्तिकै उनले चालकलाई लौ त लौ गीत सुनौं भन्ने गरेको सहयोगीहरु बताउँछन् ।

उनले सबैभन्दा धेरै सुन्ने गीत चाहिं ‘सानु तिमी कहाँ छौ, एकैचोटि मुख हेर्ने धोको छ, तिमी जहाँ छौ’ बोलको लोक गीत हो । यो गीत उनी प्रायः गुन्गुनाउने समेत गरेका छन् । भान्साको काममा व्यस्त हुँदा उनी यो गीतका केही हरफ दोहोर्याइरहन्छन् । त्यही गीत धेरै सुन्ने र गाउने गर्नुको कारण भने थाहा नभएको बताउँछन् दाहाल ।

हुन त शिव हमालको शब्द तथा मेक्सम खाती क्षेत्री र विष्णु माझीको स्वर रहेको उक्त गीत धेरैले मन पराएका छन् । ओलीले चाहिं यो गीत किन मन पराए होलान ? यो धेरैको चासोको विषय हुन सक्छ । कतै ओलीको पहिला कसैसँग प्रेम थियो र त्यो सफल नभएकाले आफ्नो विगतसँग मिल्ने भएका कारण ‘सानु तिमी कहाँ छौ ?’ भन्ने गरेका पो हुन् कि ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us