काठमाण्डु, १९ कात्तिक– नेपाली काँग्रेसमा अनुशासनको कारबाहीमा परेकाहरुले नयाँ गुट बनाएर भेला डाकेका छन् । गुटको नेतृत्व पूर्वउपप्रधानमन्त्री तथा विदेश विभाग प्रमुख सुजाता कोइरालाले गर्दैछिन् ।
पार्टीलाई प्रभावकारी बनाउने र आफूहरुमाथिको कारबाही फिर्ता गराउन पार्टी नेतृत्वलाई दबाब दिने उद्देश्यले आगामी कात्तिक २२ गते भेला डाकिएको हो । संविधानसभा निर्वाचनमा आधिकारिक उमेदवारविरुद्ध लागेको, पार्टी उमेदवारलाई हराउन लागेको भन्दै काँग्रेस अनुशासन समितिले विदेश विभाग प्रमुख सजुता कोइरालासहित १ सय ८३ जना नेता–कार्यकर्तालाई कारवाहीको सिफारिस गरेको थियो ।

कारवाहीको सिफारिसमा पर्नेमा विदुर पौडेल, सुशिलमान शेरचन, झलनाथ वाग्ले, पुरुषोत्तम बस्नेत, शिवराज जोशीलगायत पूर्वमन्त्री र केन्द्रीय नेताहरु छन् ।
‘पार्टीभित्र विकृति, विसंगती र गुट उपगुट मौलाएको’ भन्दै ‘अब काँग्रेस कता ?’ भन्ने नारा दिएर बृहत्त राष्ट्रिय भेलाको आयोजना गरेको नेता सुशिलमान शेरचनले बताए ।
शेरचनका अनुसार यो भेलाको पहिलो उद्देश्य कारबाहीमा परेकाहरुलाई विना शर्त कारवाही फिर्ता गराउने रहेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई समेत भेटेर उनीहरुले कारबाही फिर्ता लिन आग्रह गरेका छन् । प्रधानमन्त्रीले कारबाही फिर्ताबारे कुनै चासो नदेखाएपछि उनीहरुले आगामी शनिबार भेलाको गर्ने भएका हुन् ।
भेला काठमाडौको नक्शालमा रहेको सिटी पार्टी भेन्यूमा हुने पनि शेरचनले जानकारी दिए । भेलालाई अनुशासनको कारबाहीमा परेकी विदेश विभाग प्रमुख नेतृ सुजाता कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।