काठमाण्डु, १९ कात्तिक – सरकारले एमबिबिएस छात्रवृत्ति पाएका विधार्थीको भर्ना कार्यक्रममा ढिलासुस्ती एवम् चरम लापर्वाही गरेको भन्दै मेडिकल छात्रवृत्ति विद्यार्थी संघर्ष समितिले तत्काल भर्ना प्रक्रिया अगाडी नबढाए बाध्य भएर आन्दोनलमा उत्रने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले काठमाण्डु विश्वविद्यालय अन्र्तगतको प्राईभेट कलेजका लागि प्रदान गत वर्षको पुसमा नै छात्रवृत्ति पाउँदा पनि आफूहरुको भर्ना प्रक्रियामा सरकारले चरम उदासीनता देखाएको भन्दै यथाशिघ्र भर्ना प्रक्रिया सुरु नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको हो ।
संघर्ष समितिका संयोजक कृष्ण खरालले आफूहरु सरकारका आधिकारिक निकाय शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलवीचको आन्तरिक द्धन्द्धका कारण पिडित भएको आरोप लगाएका छन् ।
खरालले भने– ‘छात्रवृत्ति पाएको आज यतिका समय भैसक्यो तर हाम्रो भर्ना प्रक्रिया अहिलेसम्म पनि सुरु भएको छैन । यसमा हाम्रो घोर आपत्ति छ , तत्काल भर्ना प्रक्रिया अगाडी नबढाउने हो भन्ने हामी बाध्य भएर कडा संघर्षमा उत्रनेछौं ।’
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् मेडिकल विभाग प्रमुख अच्युतप्रसाद भट्टले विधार्थीहरुले उठाएका मागहरु जायज भएको भन्दै ऐक्यबद्धता जनाएका छन् । भट्टले सरकारले विधार्थीको भविष्यमा खेलबाड गरेको आरोप लगाउँदै तत्काल भर्ना प्रक्रिया अगाडी नबढाए विधार्थी संगठन चुप लागेर नबस्ने समेत चेतावनी दिए ।
त्यस्तै नेपाल विधार्थी संघका प्रतिनिधि राजन कुँवरले पनि समितिको मागप्रति ऐक्यबद्धता जनाएका थिए ।