कांग्रेस–एमालेको प्रस्ताव फिर्ता हुँदैन – देउवा

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ३:०२ मा प्रकाशित

काठमाडौँ, १९ कात्तिक– नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेस, एमालेलगायत दलले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको प्रस्ताव फिर्ता नहुने बताएका छन् ।

देउवाले संवाद समितिको बैठक परामर्श बिना नै स्थगन गरिएकामा आपत्तिसमेत जनाए । “यो हाम्रो प्रस्ताव हो, उहाँहरुले पनि छलफलका लागि प्रस्ताव ल्याए हुन्छ, त्यसमा छलफल गरौं, वार्ता र मिलनका लागि उपयुक्त ठाउँ खोजौं, अहिले हामीले यसमा भोट हालौं त भनेका छैनौं तर छलफलका लागि प्रस्ताव नै ल्याउन नपाउने कुरा त भएन नि”,  देउवाले भने ।
sher_Bahadur_Deuba

एमाओवादीलगायत दलले प्रस्ताव फिर्ता लिन माग गरेको सन्दर्भमा देउवाले भने, “आफू पनि प्रस्ताव नबनाउने, सबै मिलेर प्रस्ताव बनाउन नसक्ने, तीन दल मिलेर प्रस्ताव बनाउँदा नि नहुने ? यो त भएन नि ।”

संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको संवाद समितिले संविधानसभाले तेस्रो पटक दिएको म्यादभित्र सहमति जुट्न नसकेपछि अन्तिम समयमा काँग्रेस एमालेलगायत दलले छलफलका लागि भन्दै सात प्रदेशसहितको सहमतिको खाका प्रस्ताव गरेका थिए ।

एमाओवादी र मधेसकेन्द्रित दलले सो प्रस्तावले सहमतिको वातावरण बिगारेको भन्दै फिर्ता लिनुपर्ने माग राख्दै आएका छन् । पटक पटक छलफल भए पनि संवाद समितिले सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन र न्यायप्रणालीका विषयमा समाधान निकाल्न सकेको छैन ।

नेता देउवाले काँग्रेस एमालेले संवाद समितिमा प्रस्ताव ल्याए पनि सहमति जुटाउन वार्ता र छलफलका लागि अझै तीन महिना बाँकी रहेको बताए । “अगाडि सहमति भयो भने राम्रो, डेटलाइन ठूलो कुरा होइन, प्लेन छुटेजस्तो त होइन नि”, देउवाले भने ।

रासससँग निजी निवास बुढानीलकण्ठमा गरेको कुराकानीमा देउवाले अघिल्लो संविधान सभामा एमाओवादीसँग शक्ति हुँदा पनि केही नगरेको आरोप समेत लगाए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us