अब रानीपोखरीमा सङगीत सुन्दै घुम्न पाइने

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ७:०९ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक – आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनलाई लक्षित गरी रानीपोखरीमा साङ्गीतिक फोहरा (म्युजिकल फाउन्टेन) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

Ranipokhari chhat_jhilimiliरानीपोखरीको चारै दिशामा फोहरा र बीचमा भने सङ्गीतको धुनअनुसार पानीको फोहरा अर्थात् साङ्गीतिक फोहरा राख्ने योजना रहेको काठमाडौँ महानगरपालिकाका निर्माण विभागका प्रमुख सञ्जयराज उपाध्यायले बताए ।
सोहीअनुसार चार दिशामा फाउन्टेन निर्माण कार्य सकिइसकेको छ भने बीचमा राखिने साङ्गीतिक फोहराका लागि भारतबाट आवश्यक सामग्री मगाउने काम भइरहेको उनले जानकारी दिए ।

उक्त फोहरा पहिले गीतअनुसार चल्ने भनिए पनि कस्तो गीत राख्ने भन्ने कुरा नमिलेपछि सङ्गीत मात्र राखिने निर्णय भएको उनको भनाइ छ । यसका लागि सङ्गीत संयोजन गर्ने काम भइरहेको छ ।

साढे तीन करोडको लागतमा निर्माण गरिन लागेको सो फोहराको निर्माण कार्य यही महिनाको अन्तिमसम्ममा सम्पन्न भइसक्ने प्रमुख उपाध्यायले बताए ।

मल्लकालीन राजा प्रताप मल्लले आफ्नी रानीका लागि सो पोखरी विसं १७२७ तिर निर्माण गरेकाले पोखरीको नाम नै रानीपोखरी रहन गएको भनाइ छ ।

काठमाण्डुको मुटुमा रहेको रानीपोखरी विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका कारण आकर्षणको केन्द्रबिन्दु रहँदै आएको छ । साङ्गीतिक फोहराको निर्माणपछि रानीपोखरीको आकर्षणमा ‘चार चाँद’ लाग्नेमा कुनै शङ्का छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us