काठमाण्डु, १९ कात्तिक– एमालेमा सबैभन्दा शक्तिशाली नेता को होला ? सबैलाई लाग्न सक्छ कि अध्यक्ष केपी ओली वा सबैभन्दा बलियो गुट चलाएकाले माधव नेपाल । तर यो निष्कर्ष गलत सावित हुने भएको छ ।
किनकी एमालेमा सबैभन्दा शक्तिशाली व्यक्ति उपाध्यक्ष विद्या भण्डारी हुन् । पछिल्लो समय पार्टी र सरकार सञ्चालनमा समेत भण्डारी एकाएक बलियो भएको चर्चा एमाले वृत्तमा चल्न थालेको छ । आठौं महाधिवेशनबाट उपाध्यक्ष बनेकी भण्डारी नवौं महाधिवेशनबाट पुन: उपाध्यक्ष जितिन् ।
एमालेमा तीन उपाध्यक्ष छन्, बामदेव गौतम, भीम रावल र भण्डारी । वरिष्ठताका आधारमा गौतम पहिलो र रावल दोश्रो नम्बरमा छन् । अध्यक्ष ओली देशबाहिर जाँदा कार्यबाहक अध्यक्षको जिम्मेवारी गौतमले पाउने गरेका छन् । यस्तै महत्वपूर्ण दलीय छलफलहरुमा एमालेले ‘र्तकबाज’ मानिने रावललाई अघि सार्ने गरेको छ । उनीहरुको तुलनामा भण्डारीको बाहिरी सक्रियता कमै देखिन्छ । पार्टीभित्र पनि गतिविधिका हिसाबले गौतम र रावल नै अगाडि छन् । गौतम उपप्रधान तथा गृहमन्त्रीसमेत छन् भने रावलले पार्टी पदाधिकारीमा माधव नेपाल समूहको नेतृत्व गर्छन् । यी सबै कुराका बाबजुद विद्या भण्डारी शक्तिशाली हुनुको रहस्यबारे धेरैलाई थाहा छैन । स्रोतका अनुसार भण्डारीले पदाधिकारीमा सबैभन्दा बढी विश्वास भण्डारीलाई नै गर्ने गरेका छन् ।
लामो समय पार्टीमा नदीका दुई किनाराजस्ता रहेका गौतम र ओलीबीच नवौं महाधिवशेनको पूर्वसन्ध्यामा आश्चर्यजनक समीकरण बनेको थियो । ओली गत माघमा पार्टी संसदीय दलको नेता चुनिए । जेठ अन्तिम साता राजधानीमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपापाललाई ५६ मतको अन्तरले पराजित गर्दै अध्यक्ष बने । दुवै निर्वाचनमा ओलीलाई गौतम समूहले सघायो । संसदीय दलको निर्वाचनमा जिताएको गुण तिर्न ओलीले गौतमलाई पार्टीका तर्फबाट नेतृत्व गर्दै वर्तमान सरकारमा उपप्रधान र गृहमन्त्री बनाए । तर, पूराना प्रतिस्पर्धी र चतुर खेलाडी गौतमको भर पर्न ओली अझै सकेका छैनन् ।
ओलीले पार्टी अध्यक्ष भएपछि संसदीय दलको नेताबाट राजीनामा दिने र गौतम दल नेता हुने भद्र सहमति थियो । माधव नेपाल पक्षमा लाग्दा कहिल्यै दल नेता हुन नसक्ने हिसाब गरेका गौतम ओलीतिर नजिकिए । तर पार्टी अध्यक्षको कुर्सीमा ओली आशीन भएको ६ महिना पुग्नै लाग्दासमेत दल नेता नपाएपछि गौतम सशंकित बनेका छन् । अझ वर्तमान सरकार ढालेर आफैं प्रधानमन्त्री हुने ओलीको लालसा बुझेपछि सुशील कोइरालासँगै आफ्नो समेत जागिर जाने त्रास बामदेवमा छ । यही कारण पछिल्लो समय ओली–गौतम सम्बन्ध चिसिएको छ । यही मौकाको फाइदा विद्याले उठाइरहेकी छन् ।
एमाले श्रोतका अनुसार विद्याले सरकार सञ्चालनमा समेत आफ्नो प्रभाव बढाएकी छन् । कतिपय अवस्थामा बामदेवलाई समेत फाइदा हुने गरी र कहिले काहीं ओलीको शक्तिको आडमा दबाबै दिएर भए पनि उनले काम लिने गरेकी छन् । कर्मचारी सुरुवा बढुवा, ठेक्कापट्टा, कमिशन जस्ता धन्धाबाउ विद्याले राम्रै लाभ लिएको चर्चा एमालेभित्र चल्ने गरेको छ । पार्टीकै कतिपय नेतासमेत काम लिन विद्याको चाकडीमा लागेको बताइन्छ ।