
वीरगन्ज, १९ कात्तिक– छिमेकी मुलुक भारतको विहारस्थित मोतीहारी जेलमा रहेका अपराधीले वीरगन्जका उद्योगी व्यवसायीलाई फोनमार्फत धम्की दिने गरेको खुलासा भएको छ ।
हत्या अभियोगमा मोतिहारी जेलमा विगत ४ महिनादेखि कैद भुक्तान गरिरहेका सुनिल सिंहले यहाँका उद्योगी–व्यापारीलाई फोन गरी रकम माग्ने गरेका हुन् ।
फोन आतंक नरोकिएपछि प्रहरी आफैँ व्यापारी बनी सिंहको नम्बरमा सम्पर्क गरेको थियो । ‘५ लाखदेखि सुरु भएको डिमान्ड ५० हजारमा मिल्यो,’ प्रहरी उपरीक्षक दिवेश लोहनीले भने,‘रकम लिन आएका व्यक्ति हिरासतमा छन् ।’
रकम लिन आएका सीमावर्ती रक्सोल बजारका रामबाबु साहमाथि प्रहरीले अपहरण उद्योग तथा हातहतियार मुद्दामा अनुसन्धान थालेको छ । ‘पटकपटक फोन धम्की दिए पनि व्यापारीबाट पैसा असुल्न सकेको थिएन,’ एसपी लोहनीले भने,‘त्रास सिर्जना गर्न गत साता सहरको मुख्य सडकमा बमसमेत राखेको थियो ।’