पोखरा, १९ कात्तिक– राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले कास्की कारागार निरीक्षणपछि सो कारागार यातनागृहजस्तै भएको टिप्पणी गरेको छ ।
आयोगका सदस्यद्वय सुदीप पाठक र गोविन्द शर्मा पौडेलसहितको एक टोलीले कारागारको क्षमता ६० जनाको भए पनि ५२० जना कैदी उकुसमुकुस गरेर कारागारमा राखेको देखिपछि उक्त टिप्पणी गरेको हो । टोलीले कारागारको अवस्थाबारे जानकारी लिन कास्कीबाटै निरीक्षणको सुरुवात गरेको हो ।
कैदी राति खुट्टा तन्काएर सुत्न नपाउने, अत्यधिक चापले पाल टाँगेर बस्नुपर्ने, पुरुषको सात र महिलाको तीनवटा मात्रै शौचालय भएकाले पालो गरेर दिसापिसाब गर्नुपर्ने समस्या भएको टोलीले निरीक्षणका क्रममा पाएको छ ।
शौचालयको सेप्mटी ट्याङ्की फुटेर निकास जाने ठाउँ नहुँदा दुर्घन्धित भएको, कार्यालयको एउटै मात्र कोठा भएकाले सबै कर्मचारी एकै ठाउँमा बस्नु परेको र ५० वर्षअघि बनेको कारागारको पर्खाल जीर्ण भएर कुनै बेला पनि भत्कने स्थितिमा रहेको टोलीले जनाएको छ ।
निरीक्षणका क्रममा जेलर रमेशकुमार श्रेष्ठले आयोगका टोलीलाई कारागारका समस्याबारे जानकारी गराएका थिए ।
रासस