सार्कको नाममा फाइदाको दाउ

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते २:१७ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक– सार्क सम्मेलन गर्न काठमाण्डु नगर विकास प्राधिकरणले बजेटको सहमति नलिई रंगरोगन,वृक्षारोपण र पार्क निर्माण गर्न ९ करोड रुपैयाँको ठेक्का saarcगर्‍यो ।
ठेक्का सम्झौता गरी काम सुरु गरिसकेपछि प्राधिकरणका नगर नियोजक भाइकाजी तिवारी बजेटका लागि अर्थ मन्त्रालय धाइरहेका छन् ।
तिनै कामका लागि काठमाण्डु महानगरपालिकाले पनि अर्थसँग बजेट मागिरहेको छ । कामको प्रकृतिले पनि आफ्नो जिम्मामा पर्ने ती कामका लागि महानगरपालिका बजेटको औपचारिक प्रक्रियामा लागेका बेला तिवारीले समन्वय नगरी ठेक्का गरिदिएका हुन् । सरकारी निर्माणमा संकट निकायलाई कमिसन हात लाग्छ । हतारहतार हुने निर्माणमा मिलेमतो हुने भएकाले बढी कमिसनको सम्भावना हुन्छ ।
रंगरोगन, वृक्षारोपण, नारायणचौर, कमलपोखरी पार्क निर्माणका लागि तीनवटा प्याकेजमा ठेक्का लगाई काम सुरु भइसकेको तिवारीले बताए । सम्मेलन तयारीका लागि बनेको सरसफाइ उपसमिति र भौतिक पूर्वाधार उपसमितिमा निर्णय भएकाले आफूले काम सुरु गरेको उनले जिकिर गरे । ‘तर ती उपसमितिमा मन्त्रालयको तर्फबाट प्रतिनिधित्व नहुँदा कामको स्वामित्व लिने कुरामा समस्या भएको हो’ उनले भने ।
उनले सिनामंगलदेखि माइतीघर, माइतीघर– नारायणहिटी, महाराजगञ्जलगायत सडकका दायाँबायाँका पर्खाल रंगाउन थालेका छन् । यस्तै तीनकुनेदेखि माइतीघरमा वृक्षारोपण गर्ने भनिएको छ ।
अहिले अधिकांश सरकारी निकायले सार्क नाममा केही निर्माण वा खरिदको बजेट माग गरिरहेका छन् । ‘सम्मेलनलाई एकथरिले फाइदा लिने अवसर ठानेका छन्,’ स्रोतले भन्यो । सार्कका लागि भन्दै यतिवेला निर्माण वा खरिदको जिम्मा पाए त्यसबापतको कमिसन त हात लाग्छ नै ,अड्डामा भोलि पनि सुविधा बढ्छ । त्यसैले बजेट माग गर्ने प्रत्येक निकायले सवारी साधन किन्न बजेट माग गरेका छन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us