
काठमाण्डु, १८ कात्तिक – एन्फा अध्यक्ष गणेश थापालाई फिफाले निलम्बन गरेको छ । फिफाको अनुशासन कमिटीले थापालाई आर्थिक अनियमितता संलग्न रहेको ठहर गर्दै ४ महिनाको लागि निलम्बन गरेको जनाएको छ ।
एन्फा उपाध्यक्षद्धय कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धरले दिएको निवेदनको आधारमा अनुसंधानका लागि निलम्बन गरेको फिफाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
५८ करोड अनियमिताको आरोपमा संसदको लेखा समितिले असोज १२ गते गणेश थापाको अध्यक्ष पद स्थगन गर्न भनेको थियो । थापाले लामो समयसम्म आफू दोषी नभएको दावी गर्दै भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिए ।
तर, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले लेखाको निर्देशन पालना नगरे आफूले कारबाही गर्ने चेतावनी दिएपछि थापाले कात्तिक ३ गते दुई महिनाका लागि आफ्नो पद स्थगनको घोषणा गरे ।