काँग्रेस-एमालेको प्रस्तावलाई यथावस्थामा समर्थन गर्न सकिँदैन : माले

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते १३:०८ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक – नेकपा (माले)ले संविधानका अन्र्तवस्तुका रुपमा काँग्रेस र एमालेले गरेको प्रस्तावले जनता र राष्ट्रको सुरक्षित एवम् सुनिश्चित भविष्य निर्धारण गर्न नसक्ने जनाउँदै त्यसलाई यथावस्थामा समर्थन गर्न नसक्ने ठहर गरेको छ ।

maoist-flagमहासचिव सिपी मैनालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा मङगलबार बसेको पोलिटब्युरोको आकस्मिक बैठकले साझा धारणा निर्माण गर्ने नाममा गरिएको सो प्रस्ताव अवैज्ञानिक र अव्यावहारिक भएको जनाई आफ्ना धारणा जनताबीच लैजाने निर्णय गरेको हो ।

बैठकले सक्षम र समावेशी जातीय पहिचान आयोग गठन गर्ने, समानता, समावेशीकरण, सहभागिता र पहुँचका सूची बनाउने तथा तिनका परिणामलाई संविधानमा संस्थागत गर्ने तरिकाद्वारा सटिक ढङ्गले समाधान गरिनुपर्नेमा साझा धारणापत्र त्यसप्रति मौन रहेको आरोप लगाएको छ ।

पार्टी महासचिव मैनालीद्वारा आज जारी विज्ञप्तिमा सो अवधारणापत्रमा मधेस-तराईलाई हिमाल–पहाडसँग अलग गरी दुई प्रदेशमा विभाजन गर्ने प्रस्ताव गरिनाले प्रदेशको सन्तुलित विकास तथा राष्ट्रिय अखण्डतामा दूरगामी खतरा उत्पन्न हुन सक्ने औँल्याइएको छ ।

विज्ञप्तिमा साझा धारणापत्रमा सङ्घीय तथा प्रादेशिक निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीलाई पूरै नकारिएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us