काठमाण्डु, १८ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक राजनीतिक समितिका सभापति बाबुराम भट्टराईका कारण संविधान निर्माण प्रक्रिया जटिल बनेको आरोप लगाएका छन् ।
राष्ट्रिय सहमतिका आधारमा तोकिएकै समयमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेका एमाओवादी सम्वद्ध अखिल क्रान्तिकारीसहित १३ विद्यार्थी संगठनका पदाधिकारीसँग मंगलबार कुरा गर्दै ओलीले भट्टराईले सहमतिका नाममा अल्झाएर प्रक्रियामा जान ढिलाइ गरिरहेको बताए ।
भट्टराईप्रति आक्रामक रुपमा पेस भएका ओलीले प्रक्रियाको कुरा गर्दा तर्सिएर समिति सभापतिबाट राजीनामाको धम्की दिएको उल्लेख गरे । भट्टराईले सहमतिका नाममा बैठक बोलाएर पटकपटक दुःख दिएको गुनासो पोखे ।
उनले दुई तिहाई बहुमतबाट बन्ने संविधान राष्ट्रिय सहमतिको हुने दाबीसमेत गरे । काँग्रेस एमालेसहित सत्ता पक्षका दुई तिहाई सभासदको सहमतिमा संघीयता, राज्य पुनर्संरचना र शासकीय स्वरुपको साझा प्रस्ताव तयार पारिएको भन्दै त्यसमा सहमत हुन जति आउँछन् त्यसैलाई राष्ट्रिय सहमति ठान्नुपर्ने तर्क गरे । मुलुकले शान्ति चाहेको र त्यो संविधान निर्माणबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।
ओलीले आफूहरुले अघि सारेको सात प्रदेशको प्रस्ताव सही रहेको जिकिर गर्दै सबै दल त्यसैमा सहमत हुन आउने बताए । उनले धेरै प्रदेश मुलुकले धान्न नसक्ने भएकाले कमभन्दा कम प्रदेश बनाउनुपर्नेमा जोड दिए । विपक्ष्ी दलले सहमतिका नाममा मुलुकलाई बन्धक बनाउन खोजेको उनको आरोप थियो ।