अख्तियारको हस्तक्षेपले विश्वविद्यालय प्रभावितः विद्यार्थी संगठन

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक- एमाओवादी सम्वद्ध अखिल क्रान्तिकारीसहित १३ विद्यार्थी संगठनले भ्रष्टाचार नियन्त्रणका नाममा विश्वविद्यालयहरुमा अनावश्यक हस्तक्षेप गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर १३ संगठनले ओलीलाई बुझाएको ध्यानाकर्षण पत्रमा अख्तियारले छानबिनका नाममा हस्तक्षेप गर्दा शैक्षिक सत्र प्रभावित भई लाखौं विद्यार्थीको भविष्य अन्यौलमा परेको उल्लेख छ ।

अख्तियारले पदाधिकारीमाथि लगाएको आरोप सम्बन्धमा छानबिनमा ढिलाई गर्दा विश्वविद्यालयका गतिविधि ठप्प भएको उनीहरुको भनाइ छ । यद्यपि आफूहरु शैक्षिक क्षेत्रमा भएको भ्रष्टाचारलाई सून्य सहनशिलतामा झार्नुपर्ने र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने पक्षमा रहेको १३ विद्यार्थी संगठनले जनाएका छन् ।
ध्यानकर्र्षण पत्रमा विगतका सहमति, सम्झौता र प्रतिबद्धताहरुका आधारमा सहमतीय प्रणालीबाट संविधान निर्माण गरिनुपर्ने विषयमा जोड दिइएको अखिल क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्लले जानकारी दिए ।

यस्तै स्वचालित मूल्य प्रणालीका आधारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर ओरालो लागकाले सार्वजनिक यातायातको भाडा घटाउन माग गरिएको छ ।

उनीहरुले मुलुकका विभिन्न स्थानमा पछिल्लो समय सवारी दुर्घटनाको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै दुर्घटना रोक्न प्रभावकारी उपाय अवलम्बन गर्न पनि माग गरेका छन् ।
उपाध्यक्ष मल्लले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी ज्ञापनपत्र बुझाइने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us