फिदिमबाट प्रचण्डको घोषणा, ‘२२ दलले सिंहदरबार बाहिरबाटै सरकार चलाउँछ’

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते १२:३१ मा प्रकाशित

22 dal (2)पाँचथर, १८ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ काँग्रेस–एमाले गठबन्धनले बहुमतका आडमा पेलेर संविधान जारी गर्न खोजे बाहिरबाटै सरकार चलाउने चेतावनी दिएका छन् ।
२२ दलीय गठबन्धनले पाँचथरको फिदिममा मंगलबार गरेको सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनको पेलेर जाने नीतिमा परिवर्तन नआए बाहिरबाटै सरकार चलाउने र प्रदेश घोषणा गर्ने बताए ।

प्रचण्डले २२ द्यलीय गठबन्धनमा पूर्वप्रधानमन्त्रीसहित गृह र परराष्ट्र मन्त्रालय चलाएका अनुभवी नेता रहेको भन्दै सिंहदरबार बाहिरबाटै सरकार चलाउने खुबी आफूहरुको रहेको दाबी गरे ।
विगतका सहमति र प्रतिबद्धताविपरीत काँग्रेस–एमालेले ०४७ सालकै संविधान ब्युताउँन खोजेको आरोप समेत लगाए । उनले ती दुई दललाई संवाद समितिमा पेस गरेको सात प्रदेशको प्रस्ताव फिर्ता लिन पनि भने । प्रस्ताव फिर्ता नलिएसम्म काँग्रेस–एमालेसँग कुनै किसिमको वार्ता र छलफलमा नबस्ने घोषणा गरे ।
उक्त प्रस्ताव फिर्ता नलिए काँग्रेस–एमालेको राजनीतिक आधार समाप्त हुने प्रचण्डको भनाइ थियो । विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, १२ बुँदे समझदारी, मधेसी, जनजाति, महिला र थारु समुदायसँग गरेको सहमति तोडेकाले काँग्रेस–एमालेले बैधता गुमाएको तर्क प्रचण्डको छ ।

‘काँग्रेस–एमाले विगतको सहमति र प्रतिबद्धताबाट पछि हटेर ०४७ सालको संविधानतिर फर्केका छन्’, उनले भने, ‘बहुमतको आडमा पेलेरै जान खोज्ने हो भने हामी बाहिरबाटै अर्को सत्ता चलाउँछौं ।’ प्रचण्डले अबको आन्दोलनको स्वरुप छापामार युद्ध नहुने भन्दै अनर्गल प्रचार नगर्न आग्रह गरे ।

सभालाई फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई र कुमार लिङदेनलगायतले सम्बोधन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us