
काठमाण्डु, १८ कात्तिक – गणेशमान सिंहको स्मृतिमा आगामी २० गतेदेखि काठमाण्डुमा राष्ट्रिय स्तरको खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ ।
मंगलवार रिपोर्टर्स क्लब नेपालमा आयोजक योङ स्टार स्पोर्टर्स क्लबले पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता आगामी कार्तिक २० देखि २४ गतेसम्म हुने समितिका प्रवक्ता नीलकाजी शाक्यले जानकारी दिएका छन् ।
काठमाण्डु बसन्तपुरमा हुने उक्त प्रतियोगिताको समुद्घाटन भने उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गर्नुहुने पनि शाक्यले बताए । शाक्यले भने– ‘नेपालको इतिहासमा यो प्रतियोगिता महत्वपूर्ण हुनेछ ।’
कार्यक्रममा योङ स्टार क्लबका संस्थापक मथुरादास नेवा, अध्यक्ष रमेशप्रसाद प्रधान, नेपाल बक्सिङ संघका कोषाध्यक्ष किरण श्रेष्ठ, बक्सिङका प्रमुख प्रशिक्षक ओम मास्के र योङ स्टार क्लबबाट दुईपटक ओलम्पिक खेलेका बक्सर उमेश मास्केलगायतले उक्त प्रतियोगिताको महत्ववारे प्रकाश पारेका थिए ।
समितिले वीर गणेशमानको स्मृतिमा आफूहरुले प्रतियोगिता आयोजना गर्ने उल्लेख गर्दै यसलाई सफल बनाउनका लागि सबै खेलप्रेमी महानुभावलाई आग्रहसमेत गरेको छ ।