काँग्रेस–एमाले ०४७ को संविधान ब्युँताउने दाउमा : प्रचण्ड

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते १०:३६ मा प्रकाशित

झापा , १८ कात्तिक – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेले २०४७ सालको संविधान ब्युँताउन खोजेको आरोप लगाएका छन् ।

prachanda२२ दलीय मोर्चाको आयोजनामा पाँचथरको फिदिममा हुने आमसभालाई सम्बोधन गर्न जाने क्रममा मङगलबार झापाको सुरुङ्गामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

२२ दलीय मोर्चाका संयोजकसमेत रहेका प्रचण्डले मोर्चाको पहिलो सर्त भनेको तोकिएको समयमा संविधान जारी गर्नु रहेको प्रष्ट पारेका छन् ।

अघिल्लो संविधानसभाबाटै सहमति भइसकेका मिश्रित निर्वाचन प्रणाली, पहिचान र सामथ्र्यको आधारमा सङ्घीयताको निर्माणलगायतका बुँदालाई लत्याएर दुबै दलले २०४७ सालको जस्तो बहुमतीय निर्वाचन प्रणाली, राजाले घोषणा गरेजस्तो पाँच विकास क्षेत्रलाई नै थपघट गरी प्रदेश बनाउनेजस्ता प्रस्ताव अघि सारेर संविधानसभालाई भाँड्ने कुनियत राखेको उनको भनाइ थियो ।

यसैबीच, मोर्चाका अर्का नेता एवम् फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सबै भाषाभाषी, जातजाति र सबै क्षेत्रका जनताको साझा दस्तावेजका रुपमा आफूहरुले नयाँ संविधान बनाउन चाहेको बताए ।

पाँचथरको फिदिममा हुने कार्यक्रममा सहभागी हुन एमाओवादीका अध्यक्ष दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसहित एमाओवादीका सचिव वर्षमान पुन अनन्तको टोली बिहान पाँचथर प्रस्थान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us