मोदीले गणेशको टाउको प्लास्टिक सर्जरीबाट जोडिएको भनेपछि…

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते ८:३९ मा प्रकाशित

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलाबेला विवादास्पद वक्तव्यहरु दिएर चर्चामा आउने गर्छन् । पछिल्लो समयमा भारतमा महाभारतकालमै प्लास्टिक सर्जरीको आविष्कार भएको थियो भनेपछि उनी फेरि विवादमा परेका छन् ।
अघिल्लो हप्ता एक अस्पतालको उद्घाटन गर्दै मोदीले भनेका थिए, ‘महाभारतमा कर्ण आमाको कोखबाट जन्मेका थिएनन् भनिएको छ, यसको अर्थ हुन्छ, भारतमा त्यसबेलादेखि नै जेनेटिक साइन्स व्यवहारमा थियो । हामीले गणेशको पूजा गर्छौं, कोही प्लास्टिक सर्जन हुनुपर्छ, जसले त्यो जमानामा पनि मान्छेको शरीरमा हात्तीको शिर जोडेर प्लास्टिक सर्जरीको सुरुवात गर्यो ।’
मोदीको भनाइलाई समर्थन गर्दै केही वैज्ञानिकहरुले भारतीय प्राचीन विज्ञानशास्त्रको पक्षमा नया“ तर्क दिन थालेका छन् भने धेरैले प्रधानमन्त्रीको हावादारी तर्क सुनेर निराश भएको बताएका छन् ।

Modi
ख्यातीप्राप्त वैज्ञानिक तथा प्रोफेसर यशपालले मोदीको भनाइको वैज्ञानिक प्रमाण नभएको जिकिर गरे । उनले भने, ‘गणित, विजगणिता र खगोल विद्या भारतमा सुरु भएको हो, तर गणेशको शरीरमा हात्तीको टाउको प्लास्टिक सर्जरी गरेर जोडेको भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण छैन ।’
मोदी नै भारतका त्यस्ता प्रधानमन्त्री हुन्, जसले बिना वैज्ञानिक आधार विज्ञानको आविष्कारमाथि बोलेका छन् । उनले गुजरातको विद्यालयस्तरीय किताबको भूमिकामा पनि ‘भगवान रामले पहिलो हवाइजहाज उडाएका थिए’ भनेर लेखेका छन् ।
अल इन्डिया फोरम फर राइट टु इजुकेशनका सहसंस्थापक प्रोफेसर मधु प्रसादले प्रधानमन्त्रीले संविधान विपरीत वक्तव्य दिएको बताएका छन् । भारतको संविधानको अनुच्छेद ५१ मा ‘वैज्ञानिक विचारधारा राख्नु प्रत्येक भारतीय नागरिकको मूलभूता कर्तव्य हो’ भनिएको छ । मधुप्रसादले राहुल गान्धी वा अरु कोही राजनीतिज्ञ यही कुरा बोलेको भए हंगामा मच्चाइन्थ्यो तर मोदीको आलोचना गर्न सबै डराउने पनि बताए ।

एकथरी वैज्ञानिकले भने मोदीको पक्षमा बोलेका छन् । उनीहरुले मोदीको वक्तव्यबाट वैज्ञानिकहरुमा आशाको संचार भएको उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us