दाङ , १८ कात्तिक – तुलसीपुर नगरपालिकाले फोहाेरलाई मोहर बनाउने अभियान थाल्ने भएको छ ।
नगरमा उत्पादन भएका सड्ने फोहोर सङ्कलन गरी नगरपालिकाले प्राङ्गारिक मल बनाउने तयारी थालेको नगरपालिका कार्यकारी अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिए ।
फोहोर मैला व्यवस्थापनका साथै गल्ने वस्तुहरुलाई उपयोग गर्न यस्तो प्लान्टक निर्माण गर्न लागिएको हो ।
फोहोर मैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्र काठमाण्डुले प्लान्टका लागि लगानी गर्ने भएको छ । “हाम्रो अभियान भनेको फोहोर मैला व्यवस्थापन हो, हाल जैविक र अजैविक दुवै फोहर एकैस्थानमा बिसाउन बाध्य भएका छौँ, त्यसको अन्त्यका लागि पनि प्लान्ट आवश्यक छ,” बेलबासेले भने ।
यसका लागि केन्द्रले करिब २५ लाख लगानी गर्ने इच्छा देखाएको छ । प्लान्ट निर्माणका लागि तुलसीपुर नगरपालिकाभित्र करिब पाँच कट्ठा जमिनको आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।
यसैबीच, तुलसीपुर नगरपालिकाले नयाँ बसपार्कमा रहेको बधशालालाई व्यवस्थित गर्ने बायोप्लान्ट स्थापना गर्ने जनाएको छ । रासस