देउसी खेलेर छात्रावास निर्माण

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते ८:०९ मा प्रकाशित

उदयपुर, १८ कात्तिक – उदयपुर जिल्लाको मध्य पहाडी गाविस डुम्रेस्थित जल्केनीमा स्थानीय युवाले तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको नगद ६० हजार रकमबाट स्थानीय विद्यालयमा छात्रावास निर्माण गर्ने भएका छन् ।

डुम्रे जल्केनी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा युवाले तिहारमा देउसी तथा भैलो खेलेर सङ्कलन गरेको रकमलाई सोही माविमा छात्रावास निर्माणमा खर्च गर्न लागिएको देउसी भैलो कार्यक्रमका संयोजक तथा जल्केनी माविका पूर्वविद्यार्थी ईश्वर राईले बताए ।

यस्तै, विद्यार्थी समाजका तर्फबाट छुट्टै २० हजार नगद सङ्कलन गरिएको छ । जल्केनी माविका शिक्षकहरुबाट समेत नगद २० हजार रकम छात्रावास निर्माणका लागि सङ्कलन भएको कार्यक्रमका संयोजक राईले बताए ।

यसरी नगद एक लाख सङ्कलन भएपछि स्थानीय अभिभावकहरुले समेत छुट्टै तीन लाख नगद सङ्कलन गर्ने योजनासहित चार लाखमा विद्यालयका लागि छात्रावास निर्माण गर्ने अभियान थालिएको छ ।

छात्रावास निर्माणका लागि ४० हजारमा छुट्टै दुई कट्ठा जग्गासमेत खरिद गर्ने तय भएको स्थानीय अभिभावक विष्णु कार्कीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us