काठमाण्डु, १८ कात्तिक – राप्रपा नेपालका सभासद् गणेश थापाले आफूले पाउने तलबभत्ता र अन्य सुविधा पार्टीलाई बुझाउने घोषणा गरेका छन् ।
राप्रपा नेपालको सिफारिसमा अखिल नेपाल फुटबल संघ एन्फाका निवर्तमान अध्यक्ष समेत रहेका थापा संविधान सभा सदस्यमा नियुक्त भएका थिए । थापा अध्यक्ष कमल थापाका सहोदर भाइ पनि हुन् ।

राप्रपा नेपालको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा थापाले तलबभत्ता पार्टीलाई बुझाउने जानकारी गराएको पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा छ ।
यसअघि संसद्को सार्वजनिक लेखा समितिले एन्फामा थापाले व्यापक आर्थिक हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेपछि थापाले दुई महिनाका लागि अध्यक्ष पद त्यागेको घोषणा गरेका थिए ।
यसैबीच राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकले हिन्दु राष्ट्र स्थापनाका लागि हस्ताक्षर संकलन अभियानको म्याद थप गर्ने र कात्तिक २५ गते देशभर हिन्दु जागरण अन्तरक्रिया अभियान संचालन गर्ने निर्णय गरेको छ ।