पाँचथर, १८ कात्तिक – सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईले संविधान कोठामा बसेर मनोगत ढङ्गले कविता लेखे जस्तो नहुने बताएका छन् ।
२२ दलीय मोर्चाको पाँचथर फिदिममा हुने जनसभालाई सम्बोधन गर्दै राईले मङगलबार संविधान परिवर्तनका लागि भएका दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेस आन्दोलनलगायका महत्वपूर्ण आन्दोलनको उपलब्धि गुम्दै गएको र सत्तारुढ दलहरुले ‘उहिलेका कुरा खुइले’ भन्न थालेको बताए ।
कानुनी र राजनीतिक दस्तावेज मात्रै नभई संविधान सामाजिक सम्झौताको दस्तावेज पनि हो भन्दै उनले सत्तारुढ दलहरुले कविता लेखे जस्तै संविधान लेख्न खोजेको आरोप लगाए ।
उनले आगामी माघ ८ गते संविधान जारी नहुने दाबी पनि गरे । संवैधानिक हिसाबले संविधानसभाको कार्यकाल चार वर्ष भएकाले अहिले नै साइत गुज्रयो भनेर डराउन नहुने उनको भनाइ छ ।
अध्यक्ष राईले १० प्रदेशभन्दा कम प्रदेश हुन नहुने तर्क पनि प्रस्तुत गरे । अघिल्लो संविधानसभामा विज्ञ सम्मिलित टोलीले पनि १० प्रदेशकै खाका प्रस्तुत गरेकाले यही नै वैज्ञानिक राज्य पुनःसंचरना हुने उनको भनाइ छ ।
सङ्घीय राज्यको नामकरणको आधार जातीय पहिचान नै हुनुपर्ने उनको धारणा छ । एक फरक प्रसङ्गमा उनले सत्तारुढ दलहरुलाई जनसंविधानका लागि दबाब दिन २२ दलीय गठबन्धनले आज फिदिममा जनसभा गर्न लागेको स्पष्ट पारे ।