फरार अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते ६:१० मा प्रकाशित

धनगढी, १८ कात्तिक – कैलाली जिल्ला अदालतबाट दुई छुट्टाछुट्टै मुद्दामा गरी दुई महिना १५ दिन कैद र एक हजार जरिवानाको सजाय तोकिई फरार रहेका एक अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ ।

यी दुई मुद्दाका अभियुक्त धनगढी नगरपालिका–३ का टेकबहादुर सिंहलाई पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूह सेतीबाट खटिएको प्रहरी टोलीले जनाएको छ ।

लागुऔषध चरेश मुद्दामा गत वर्ष कैद सजाय सुनाइएका सिंहलाई झन्डै १६ वर्षअघि बहुविवाहको मुद्दामा पनि कैद सजाय र जरिवानाको फैसला जिल्ला अदालतले सुनाएको थियो ।

प्रहरी टोलीले वन मुद्दामा एक महिना कैद र करिब १९ हजार जरिवानाको फैसला सुनाई फरार रहेका कैलाली पथरैया गाविसका रामकिसन चौधरी, वन मुद्दामै तीन महिना कैद र करिब ४४ हजार जरिवाना तोकी फरार रहेका बलिया गाविसका काशीराम साउदलाई पनि पक्राउ गरको छ ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतको जिम्मा लगाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us