
चितवन, १८ कात्तिक – चितवनका एक व्यक्तिले बिरामी कुरुवाघर बनाउनका लागि १० लाख ११ हजार सहयोग गरेका छन् । स्थानीय समाजसेवी ध्रुवकुमार प्रधानले सो सहयोग गरेका हुन् ।
क्यान्सर रोगको उपचारका लागि आएका गरिब परिवारका बिरामी र तिनका आफन्त बस्न मिल्ने गरी चितवनको क्यान्सर अस्पताल परिसरमा सुविधासम्पन्न बिरामी कुरुवा घर बनाउन प्रक्रिया सुरु भएको छ ।
बिरामी र आफन्तले क्यान्सर अस्पतालमा उपचार गराउन आउँदा महँगो होटलमा बस्नुपर्ने बाध्यता रहेकाले उनीहरुको सहुलियतका लागि घर निर्माण गर्न लागिएको हो । नेपाल अर्बुद रोग निवारण संस्थाको पहलमा उक्त घर निर्माण गर्न लागिएको हो ।
संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले भवन निर्माणका लागि सहयोग आउने क्रम जारी रहेको बताए । करिब ४० लाखको लागतमा ४० जना विपन्न बिरामी र उनीहरुका आफन्त बस्न मिल्ने गरी कुरुवाघर निर्माण गर्न लागिएको हो ।
गरिब र विपन्नलाई लक्षित गरेर ल्याइएको कार्यक्रममा सहमति जुटे आगामी मङ्सिर–पुसदेखि नै निर्माणको काम थालिने संस्थाले जनाएको छ । अहिलेसम्म कुल रु १९ लाख जम्मा भइसकेको जानकारी अध्यक्ष चुकेले दिए । रासस