एउटै व्यक्ति ६ विभागको प्रमुख

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते २:०२ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक– सरकारी संस्थानमा एउटै अधिकारी कतिवटा विभागको प्रमुख हुन पाउलान् ?
नेसनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले डेढ वर्षदेखि ६ वटा विभागको प्रमुख भएर काम गर्दै आएका छन् । लिमिटेडका दुई उपमहाप्रबन्धकको जिम्मेवारी पनि उनी आफैंले समाल्दै आएका छन् ।
लिमिटेडमा प्रसस्त वरिष्ठ कर्मचारी हुँदाहुँदै मेहता आफैं योजना बनाउँछन्, खर्च गर्छन्, टेन्डर आह्वान गर्छन्, आफैं मूल्यांकन र स्वीकृत पनि गर्छन् । उनी लिमिटेडको आर्थिक व्यवस्थापन विभाग, प्रशासन तथा जनशक्ति व्यवस्थापन विभाग, बिक्री प्रवर्द्धन विभाग, मूल्यांकन समितिको विभागीय प्रमुख भएर काम गर्छन् ।

त्यसबाहेक बोर्ड बैठकको सचिवको जिम्मेवारीसमेत अरू कसैलाई नदिई उनी आफैंले राखेका छन् । बैठकमा प्रस्ताव ल्याउने, निर्णय गर्ने र निर्णयपुस्तिकामा सही गराउने सबै काम उनी आफैंले गरिरहेका छन् ।
निमित्त महाप्रबन्धकले दीर्घकालीन असर नपर्ने गरी कामकारबाही गर्नुपर्ने व्यवस्था भए पनि उनी गोदाम र जग्गा भाडामा लगाउने, गोदाम निर्माण गर्ने, सामान खरिद बिक्री गर्ने, टेन्डर आह्वान गरेर मूल्यांकन गरी स्वीकृत गर्नेलगायतका काम आफैं गर्छन् ।

२०७० साउनमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री शंकर कोइराला नेतृत्वको नेसनल ट्रेडिङ बोर्डले मेहतालाई प्रशासन प्रमुखबाट निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको थियो । अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us