चिनियाँ पक्षले सोध्यो, रसुवागढी नाका कहिलेदेखि खुलाउने ?

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते १३:५८ मा प्रकाशित

रसुवा, १७ कात्तिक– नेपालको उत्तरी नाका रसुवागढीबाट नियमित व्यापार व्यवसाय सञ्चालन गर्न चिनियाँ पक्षले तयारीको औपचारिक जानकारी मागेको छ ।
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईका अनुसार गत १५ गते रसुवा र केरुङका अधिकारीबीच केरुङमा सम्पन्न समन्वयात्मक बैठकमा रसुवागढी नाकाबाट नियमित व्यापार व्यवसाय अभिवृद्धि बढाउन चीनको तयारी पूरा भइसकेको छ ।

नेपालको सीमामा अध्यागमन कार्यालय स्थापना गरी औपचारिक जानकारी पठाइदिन चिनियाँ अधिकारीले आग्रह गरेको उनले बताए ।  सीमा क्षेत्रमा अवैध कारोबार हुन नदिन र छिमेकी–छिमेकीबीचको भेटघाटबाट अटल सद्भाव कायम राख्न केरुङ र रसुवाका अधिकारीबीच आलोपालो आ–आफ्ना भूभागमा समन्वयात्मक बैठक गर्ने परम्पराअनुरुप सम्पन्न बैठकमा नेपालको कानुनले निषेध गरेका कुनै पनि वस्तु चीन प्रवेशमा रोक लगाइने चिनियाँ अधिकारीले प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

रसुवागढी हुँदै काठमाण्डु लैजान यहाँका व्यवसायीले मगाएका केही सामान केरुङमा रोकिएको देखिएको बताउँदै प्रजिअ भट्टराईले रसुवागढीमा अध्यागमन कार्यालय स्थापना गराउन मन्त्रिपरिषद्मा फाइल पुगिसकेकाले नाका सञ्चालनको प्रक्रिया छिट्टै टुङ्गिने जानकारी दिए ।
सिन्धुपाल्चोकको माङ्खामा पहिरो गएपछि गत असोज १४ गतेसम्म मात्र रसुवागढी नाकाबाट सामान आएको थियो । केरुङमा आइसकेका सामान रोकिँदा व्यवसायीलाई ठूलो मर्का परेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us