म्याग्दीमा उत्पादित हाते कागजका सामग्री निर्यात

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ११:०८ मा प्रकाशित

म्याग्दी, १६ कात्तिक – म्याग्दीको राम्चे गाविसको नागीमा उत्पादन गरिएको नेपाली हाते कागजबाट निर्मित सामग्रीहरू विदेशमा निर्यात हुन थालेको छ ।

स्थानीय वनमा प्रशस्त मात्रामा पाइने लोक्ताबाट निर्माण गरिने नेपाली हाते कागजबाट निर्मित सपिङ ब्याग, नोटबुक (डायरी), फोटो फ्रेम, एल्बमलगायतका सामग्री अष्ट्रेलिया, जापान, कोरियालगायतका मुलुकमा निर्यात भएको हो ।

हिमाञ्चल उच्च मावि सञ्चालनार्थ नागीमा स्थापना गरिएको हिमाञ्चल हाते कागज तथा हस्तकला उद्योगमा लोक्ताबाट हाते कागज र हातेकागजबाट नोटबुकलगायतका आकर्षक सामग्री तयार गरिन्छ । अहिले सो उद्योगमा निर्माण गरिएका १० हजार मूल्यबराबरका ३० थान नोटबुक जापान निर्यात गरिएको उद्योगका व्यवस्थापक चित्र तिलिजा पुनले बताए ।

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै भ्रमणमा आउने पर्यटकले समेत उद्योगबाट सामग्री खरिद गरी लैजाने गरेको र अष्टे«लिया, कोरियाको लागिसमेत निर्यात गरिने सामग्री तयारी अवस्थामा रहेको व्यवस्थापक पुनले जानकारी दिए ।

पर्यटकीय क्षेत्र भएकाले भम्रणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले चिनोका रूपमा समेत कागजबाट निर्माण गरिएका सामग्री लैजाने गरेका छन् । उत्पादित सामग्री गुणस्तरीय र बढी टिकाउ भएपछि माग आउने क्रम बढेको उद्योगकी कर्मचारी संयोजक कुलमायाँ चोचाङ्गीले बताए ।

उनका अनुसार सो हातेकागज उद्योगमा मात्रै स्थानीय १२ जना महिलाले रोजगारी पाएका छन् । यसैबीच यस हातेकागज तथा हस्तकला उद्योगमा नयाँ प्रविधिको प्रयोग गरी कागज उत्पादन गर्न थालिएको छ । बन्द कोठामा तातो बनाएर कागज सुकाउने प्रविधिको प्रयोग गरिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us