
कञ्चनपुर , १६ कात्तिक – कञ्चनपुर जिल्लाको पुनर्वासस्थित ६५ बिगाहामा कृषि विश्वविद्यालय स्थापनार्थ सम्पन्न श्रीमद्भागवत् ज्ञान महायज्ञमा झन्डै अढाई करोड रुपैयाँ सङ्कलन भएको छ ।
महायज्ञमा दाताहरुबाट नगद दानमा ४९ लाख १६ हजार २०६, भूमि दानमा एक करोड ३५ लाख २५ हजार ३२ र बाग दानमा ५६ लाख ८३ हजार ३३० गरी जम्मा दूई करोड ४१ लाख २४ हजार ५६८ रकम सङ्कलन भएको छ ।
सो आयबाट महायज्ञको तयारी, पर्चा, पोष्टर, ब्यानर, यातायात, खाना, खाजा, होटलखर्च, अतिथि सत्कार, प्रचारप्रसार, कलश, खादा खरिद, सापटी फिर्ता, प्रशंसा र सम्मानपत्र छपाइलगायतका शीर्षकमा ३४ लाख ६८ हजार ३५८ खर्च भएको जनाइएको छ ।
गत असोज २४ देखि ३१ गतेसम्म सात दिन चलेको कृषि क्याम्पस स्थापनार्थ महायज्ञमा पाँच करोड सहयोग रकम जुटाउने लक्ष्य लिई आयोजना गरिए पनि आधामात्र रकम उठ्न सकेको हो ।
मूल आयोजक समितिले थुप्रै चुनौतीको सामना गर्नुपरेको आयोजक समितिका पदाधिकारीहरुले बताएका छन् । मौसम प्रतिकूल भएको तथा समितिका अधिकांश सदस्यबाट असहयोग भएकाले लक्ष्यमा बाधा आएको मूल आयोजक समितिका सहमहासचिव हरिप्रसाद अधिकारीले जानकारी दिए । रासस