धुलिखेल रिट्रिटका लागि हेलिप्याड निर्माण सुरु

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ९:१९ मा प्रकाशित

बनेपा, १५ कात्तिक – दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रिटका लागि धुलिखेल ल्याउने भएपछि यहाँ हेलिप्याड निर्माण कार्य सुरु भएको छ ।

केही दिनअघिदेखि सुरु भएको हेलिप्याड निर्माणको सम्याउने काम सकिएको र पक्की बनाउने तयारी थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सो हेलिप्याड बनाउन स्थानीय विकास मन्त्रालयले पछि भुक्तान गर्ने गरी २४ लाख खर्च लाग्ने अनुमान गरेको स्थानीय विकास अधिकारी प्रेम भट्टराईले जानकारी दिए ।

धुलिखेल नगरपालिका–१ स्थित डाँडामा हेलिकप्टर राख्न बन्न लागेका दुईवटा हेलिप्याड निर्माणको जिम्मेवारी खड्ग दल गण धुलिखेलले लिएको छ ।

शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रिटका लागि धुलिखेलस्थित द्वारिकाज हिमालयन साङग्रीला होटलमा आवास तथा दुईपक्षीय वार्ताको व्यवस्था मिलाएको छ ।

यसबाहेक, धुलिखेलमा सुरक्षा व्यवस्थालाई कडा बनाउन स्थानीयरुपमा बैठक भइरहेको र सुरक्षा रणनीति तय भएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी केदार न्यौपानेले जानकारी दिए ।

यसअघि परराष्ट्र मन्त्रालयको नेतृत्वमा आएको टोलीले सुरक्षा संवेदनशीलताको विषयमा जानकारी लिइसकेको छ । शिखर सम्मेलन उद्घाटनपछि राष्ट्र एवम् सरकार प्रमुखलाई रिट्रिटमा लैजाने र सम्भव भएसम्म दुईपक्षीय वार्ताको वातावरण तय गरिदिने प्रचलन छ ।

सन् २००२ को ११औँ शिखर सम्मेलनमा नगरकोटमा रिट्रिट दिने भनिए पनि सफल भएको थिएन । आगामी मङ्सिरको १० र ११ गते १८आँै शिखर सम्मेलन काठमाण्डुमा आयोजना हुँदैछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us