कञ्चनपुर, १५ कात्तिक– भवन नहुँदा कञ्चनपुरको देखतभूली–४ आन्ध्राजालामा गोठमा विद्यालय चलाइएको छ । आन्ध्राजालाको मुक्त कमैया शिविरमा रहेको मिलन प्राथमिक विद्यालय स्थानीयको गोठमा सञ्चालन हुँदै आएको हो ।
दुई वर्षअघि स्याली नदीमा आएको बाढीले विद्यालयको पक्की भवन र जग्गा बगाएपछि स्थानीय बिन्दु रानाको गोठमा विद्यालय सञ्चालन हुँदै आएको छ ।
पानी र चर्को घाम नलागेका बेला गोठ नजिकैको आँगनमा कक्षा सञ्चालन हुने गरेका भए पनि पानी परेका बेला गोठसमेत चुहिने भएकाले विद्यालयमा बिदा दिनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक देवकी पनेरुले बताइन् ।
बाढीले विद्यालयको चारकोठे पक्की भवन, शौचालय, फर्निचर र जग्गा बगाएर लगेपछि विद्यालय स्थानीयको गोठमा सञ्चालन गर्नुपरेको उनले बताइन् ।
विद्यालयमा विद्यार्थी बस्ने फर्निचर नहुँदा घरबाटै विद्यार्थीले चकटी र बोरा बोकेर ल्याई बस्ने र विद्यालय बिदापछि पुनः चकटी र बोरा बोकेर घरतर्फ लाग्ने गरेका छन् ।
बस्तीका सबै परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विद्यालयका लागि जग्गा खरिद गर्न र भवन बनाउनका लागि चन्दा सङ्कलन गर्न नसक्दा विद्यालय सञ्चालन गर्न कठिनाइ भएको सञ्चालक समिति अध्यक्ष जानकी चन्दले बताइन् ।
गाविस, जिविस र जिल्ला शिक्षा कार्यालयमा विद्यालय सञ्चालनका लागि जग्गा र भवनको व्यवस्था गरिदिन भन्दै पटकपटक आग्रह गरे पनि कुनै पनि निकायबाट सहयोग पाउन नसकेको विद्यालयका पूर्व अध्यक्ष रामप्रसाद रानाको गुनासो छ ।
‘विद्यालय समायोजन गर्नका लागि अर्को विद्यालय पुग्न बालबालिकालाई एक घन्टाभन्दा बढी समय लाग्दछ’, उनले भने, ‘स–साना बालबालिका सो विद्यालयमा पुग्न नसक्ने भएकाले समायोजन पनि गर्न सकेका छैनौँ ।’
२०६४ सालमा स्थापना भएको विद्यालयमा १०० भन्दा बढी बालबालिका अध्ययनरत छन् ।