एमाओवादी रसुवा र नुवाकोटमा कारवाही विवाद

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ७:२६ मा प्रकाशित

maoist-flagकाठमाण्डु, कात्तिक १५ – एमाओवादी रसुवा र नुवाकोटमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई समूहबीचको विवाद चर्किएको छ ।

पोलिट्ब्युरो सदस्य नारायण दाहाल र हितबहादुर तामाङको उपस्थितिको बैठकले बुधबार रसुवाका पूर्व सभासद् तथा जिल्ला संयोजक प्रेमबहादुर तामाङलाई जिल्ला कमिटीबाट निष्कासन गरेपछि विवाद बढेको हो ।

पूर्व सभासद् तामाङसहित पाँच जना जिल्ला कमिटि सदस्यलाई ‘विधान विपरीत कार्य गरेको’ भन्दै कमिटिबाट निष्कासन गरिएको थियो । कारवाहीमा पर्नेहरु बाबुराम भट्टराई पक्षधर हुन् ।

आफूमाथि कारवाही भएपछि तामाङले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै आफूलाई जिल्लाको दुई तिहाइ बहुमतले निर्वाचित गरेको र अवैधानिक ढंगले आफूहरुमाथि कारवाही गरेको दाबी गरेका छन् । उनले नयाँ जिल्ला संयोजक इन्द्र गौतम र जिल्ला कमिटि सदस्य माधव लामिछानेलाई कारवाही गरेको बताएका छन् ।

उनले विधान विपरीत कारवाही गर्ने पोलिट्ब्युरो सदस्य नारायण दाहाल र हितबहादुर तामाङलाई नै कारबाही गर्न केन्द्र सिफारिस समेत गरेका छन् । दाहालले भने आफूहरुमाथि कारवाही गर्ने कुरा हास्यास्पद भएको बताए । ‘हामी माथि होइन, देशभरि समानान्तर कमिटि बनाउने र अराजक गतिविधि गर्दै हिंड्नेहरुमाथि कारवाही गरिन्छ,’ दाहालले भने, ‘रसुवामा पनि अराजकहरुमाथि कारवाही गरिएको हो ।’

दाहालले रसुवामा सात जना जिल्ला कमिटि सदस्य एकातिर र प्रेम तामाङ एक्लै अर्कोतिर भएको समेत दाबी गरे ।

यसैबीच हितबहादुर तामाङ र नारायण दाहालकै उपस्थितिमा नुवाकोट जिल्लामा पनि ५ जना जिल्ला कमिटि सदस्यलाई कारवाही गरेपछि नुवकोटमा कारवाहीमा पर्नेहरुले पनि नेताद्वय तामाङ र दाहाललाई नै कारवाही गर्न केन्द्रमा सिफारिस गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us