काठमाण्डु, १४ कात्तिक– राप्रपा नेपालका सभासदको अवरोधका कारण व्यवस्थापिका–संसदको शुक्रबारको बैठक अवरुद्ध भयो ।
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा नेपालले संसद अवरुद्ध गरेको हो । हिन्दू धर्ममाथि राज्यबाटै आक्रमणको भएको भन्दै राप्रपा नेपालले सरकारको जवाफ मागेको थियो ।
जवाफका क्रममा मन्त्री गौतमले हिन्दू धर्मका नाममा हनुमान शैलीमा खुँडा खुकरी बोकेर हिंड्ने र सडकमै गाइको बाच्छो बाँधेर सर्वसाधारणको आवत जावत असहज बनाएकाले शान्ति बाटिकामा अनशन बसेका हिन्दूवादीलाई बलप्रयोग गरी हटाएको बताएका थिए ।
गौतको जवाफप्रति आपत्ति जनाउँदै राप्रपा नेपालका सभासद उठेपछि सभाध्यक्ष सुवास नेम्वाङले केहीबेरका लागि बैठक स्थगित गरेका थिए । दोश्रोपटक पुन: बसेको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्रीको जवाफ आपत्ति जनक हरेकाले माफी नमागेसम्म संसदको कारबाही अघि बढ्न नदिने बताए ।
शान्तिपूर्ण रुपमा विरोध र धर्ना गर्न पाउने संविधान प्रदत्त अधिकारमाथि सरकारले अंकुश लगाएको उनको आरोप छ । उनले नेपालका ९४ प्रतिशत हिन्दू जनताको भावनामा सरकारले खेलवाड गरिरहेको आरोप लगाए ।