शीर्ष तहमा कुरा नमिल्दा राजनीतिक समिति फेरि अनिर्णित

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ११:१३ मा प्रकाशित

CA-buildingकाठमाण्डु, १४ कात्तिक– संविधानका विवादमा सहमति खोज्न बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको शुक्रबारको बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।
बैठक मुल विषयमा प्रवेशै नगरी सकिएको समिति सभापति बाबुराम भट्टराईले जानकारी दिए । शुक्रबार बस्ने प्रमुख तीन दलको बैठकको निष्कर्षका आधारमा शनिबार पुन: छलफल गर्ने गरी बैठक स्थगित भएको भट्टराईले बताए ।

‘विषयवस्तुमा प्रवेशै नभएका कारण कुनै निष्कर्ष आएन’, भट्टराईले भने, ‘प्रमुख तीन दलको बीचमा आज छलफल भएपछि त्यसका आधारमा भोलि फेरि बैठक बस्ने कुरा भएको छ ।’ बैठकमा सभासदहरुबीच समितिको म्याद थप्ने वा नथप्ने भन्ने विषयमा मत बाझिएको थियो । सत्ता पक्षका सभासदले सहमतिका नाममा पटकपटक कार्यतालिका मिचिएको भन्दै सहमति नभए प्रक्रियामा जानुपर्ने बताए ।

एमाओवादीसहित विपक्षीले भने पूर्वसहमतिका आधारमा सहमतिमै संविधान निर्माण गर्नुको विकल्प नभएकाले समितिलाई थप समय उपलब्ध गराइनुपर्ने धारणा राखेको सदभावना सभासद लक्ष्मणलाल कर्णले बताए । उनले पनि तीन दलीय बैठकको निष्कर्षका आधारमा समितिको म्याद थप्ने वा नथप्ने भन्नेबारे शनिबार छलफल हुने जानकारी दिए ।
संविधानसभाले संविधानका विवादित विषयमा सहमति जुटाउन समितिलाई दिएको अन्तिम समयसीमा शनिबार सकिँदैछ । दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीलगायत विषयमा विवाद छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us