
काठमाण्डु, १४ कात्तिक – यूवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सरकारको अबको क्रिकेट फोकस भनेकै एक दिवसीय मान्यता दिलाउनु रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले नेपाली क्रिकेटलाई अझै बलियो बनाउन पाकिस्तान, श्रीलंका र माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेलाउने र नेपालमै अन्तर्राष्ट्रियस्तरको टि–२० प्रतियोगिता आयोजना गर्ने तयारीमा सरकार रहेको प्रष्ट्याए ।
मन्त्री पौडेलले बंगलादेशको राष्ट्रिय टोली र नेपाली राष्ट्रिय टोलीवीच मैत्रिपूर्ण खेल आयोजना गर्ने अन्तिम तयारी भईरहेको जानकारी समेत दिए ।
उनले मुलपानी, टीयू र पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन सरकार लागि परेको भन्दै मुलपानीको जग्गा विवाद पनि तत्काल समाधान गर्न सरकार लागेको बताए । उनले भने–‘भारतले पनि एउटा स्टेडियम बनाउन सहमति जनाएकोले सरकारले जग्गाको टुङगो लगाएर प्रस्ताव गर्दैछ ।’
नेपाली क्रिकेटको इतिहास छोटो भए पनि डिभिजन दुईमा जानु जस्तो महत्वपूर्ण फड्को मार्न सफल भएको उल्लेख गर्दै मन्त्री पौडेलले नेपाल क्रिकेट संघको ब्यवस्थापन र नेतृत्व क्षमता नभएकोले क्रिकेट विकासमा समस्या उत्पन्न भएको आरोप समेत लगाए ।
उनले भने – अब एक र दुई दिवसीय अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नु पर्छ । क्रिकेटमा ईतिहास बनाउने खेलाडीहरुलाई उनीहरुको आवश्यकता अनुसार सहयोग गर्न सरकार तयार छ । यसपटक पनि सरकारले खेलाडीलाई ईन्सेन्टिभ दिने मन्त्रिपरिषदको निर्णयबाट गर्ने मन्त्री पौडेलले जानकारी दिए ।