रियल मड्रिडद्वारा बार्सिलोना पराजित
काठमाण्डु टुडे
२०७१ कार्तिक ९ गते ५:२५ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक-स्पेनिस जाइन्ट रियल मड्रिडले इएल क्लासिको भिडन्तमा आफ्नो चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गरेको छ।
गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको इएल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई ३–१ को गोल अन्तरले पराजित गरेको हो।
चार महिनाको प्रतिबन्धपछि बार्सिलोनाको जर्सीमा पहिलो पटक मैदान उत्रिएका लुइस स्वारेजले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै नेयमारले चौथो मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। एक शून्यले पछि परेको रियलले बराबरी गोल फर्काउन आधा घण्टा कुर्नु परेको थियो।
खेलको ३५ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए। मार्सेलोले प्रहार गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले डि एरियाभित्र ह्याण्ड गरेपछि रियलले पेनाल्टीको अबसर पायो र त्यसमा रोनाल्डो चुकेनन्।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ५० औँ मिनेटमा रियलका डिफेन्डर पेपेले हेड गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। दोस्रो गोल गरेको ११ मिनेटपछि नै रोनाल्डोको पासमा करिम बेन्जिमाले गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाएका थिए।
त्यसपछि पाएका मौकालाई बार्सिलोना र रियल दुवैले सदुपयोग गर्न सकेनन् र खेल रियलले जित्यो।
बार्सिलोनामाथि ३–१ को जित निकाल्दै रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ भने बार्सिलोनासँगको अंक दुरी एक अंकमा पुर्याएको छ। जितसँगै ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको रियलको ९ खेलबाट २१ अंक भएको छ भने तालिकाको पहिलो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट २२ अंक छ।