
काठमाण्डु– नेपालले मलेसियामा सुरू आईसीसी विश्व क्रिकेट लिग डिभिजन तीन नेपाल युगान्डासँग २० रनले पराजित भएको छ।
क्वालालाम्पुरस्थित किनरा एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको युगाण्डाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो।
प्रतिउत्तरमा नेपाल ५० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १८३ रनमा समेटिएको हो।
युगाण्डालाई २ सय ३ रनमा समेटने क्रममा नेपालका लागि कप्तान पारस खड्काले ३ विकेट लिएका थिए। उनले १० ओभर बलिङ गर्दै ३ ओभर मेडन फाल्दै ३४ रन दिएका थिए। त्यस्तै सोमपाल कामीले २ र वसन्त रेग्मीले दुई दुई विकेट हात पारेका थिए।
युगाण्डाका लागि मुकोबेले ८४ रनको पारी खेले। उनले १ सय २ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै अर्का ब्याट्सम्यान मासाबाले ८१ बलमा ५ चौका मद्दतले ५१ रन जोडे।
नेपाली ब्याट्म्यानहरूमा नरेश बुढाऐरले सर्वाधिक ६२ रनको योगदान दिए। यस्तै सुवास खकुरेल,सरद भेसवार र सागर पुनले समान २२-२२ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।
एक सातासम्म चल्ने प्रतियोगिता नेपालसहित मलेसिया, बर्मुडा, सिंगापुर, अमेरिका र युगान्डा सहभागी छन्। राउन्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन दुईमा प्रवेश गर्नेछन्। शीर्ष दुईले उपाधिका लागि प्रतिस्पर्धा समेत गर्छन्।
डिभिजन दुई आगामी जनवरीको तेस्रो साता नामिबियामा हुँदैछ। यो प्रतियोगिताको शीर्ष दुईमा रहन सके नेपालले आईसीसी इन्टर कन्टिनेन्टल कप र एकदिवसीय स्वरूपको पेप्सी आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ। डिभिजन दुईबाट अगाडि बढ्ने टोलीले अहिलेसम्म यी प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ।