
काठमाण्डु, ३ कात्तिक – एन्फा अध्यक्ष गणेश थापाले आफ्नो जिम्मेवारी उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई दिएका छन्।
५८ करोड भष्टाचार मुद्दामा अनुसन्धान खेपीरहेका थापालाई खेलकुद मन्त्रालय र परिषदले निलम्बन गर्ने चेतावनी दिएपछि विश्वास पात्र श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन्।
एन्फा कम्प्लेक्समा सोमबार गरिएको पत्रकार सम्मेलनमा थापाले दिएको जानकारी अनुसार श्रेष्ठलाई दुई महिनाका लागि कार्यबहाक दिइएको हो।
एन्फाको सोमबारको बैठकले कोषाध्यक्ष विराटजंग शाहीको ठाउँमा सहायक कोषाध्यक्ष रविन्द्र जोशीलाई ल्याइएको छ। जोशी पनि थापासँगै विवादमा मुछिएका थिए।
एन्फा विधानले अध्यक्षलाई कार्यबाहक दिने अधिकार भए नभएको बारे अब खोजी हुनेछ। २० वर्ष एन्फा अध्यक्ष रहँदा ५८ करोड रूपैयाँ घोटला गरेको भनेर सार्वजनिक लेखा समितिले ठहर गरेपछि थापा पदमुक्त हुन बाध्य भएका हुन्।
उनले आफूलाई लागेको आरोप कपोलकल्पित र पूर्वाग्रह साध्ने खालको भएको दाबी गर्दै आएका छन्। मन्त्रालय र परिषदले निलम्बन गर्नुअघि नै विश्वास पात्रलाई कार्यबाहक दिएर एन्फामा पकड कायम राख्ने दाउ थापाको छ।
थापामाथि एसियाली फुटबल महासंघ एएफसीका पूर्वअध्यक्ष मोहम्मद बिन हमामसँग भोटका लागि १ लाख १५ हजार पाउन्ड लिएको, दुई वर्षअघि १ लाख डलर लिएको, एन्फाको पैसा आफूखुसी राखेको, विधानविपरीत संघ चलाएको, खेलाडी कल्याण कोषको सही प्रयोग नगरेकोलगायत आरोप छन् ।