चाडपर्वको अवसरमा नेपाल टेलिकमको छुट सुविधा

काठमाण्डु टुडे २०७१ असोज १२ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, १२ असोज – नेपाल टेलिकमले चाडपर्वको अवसरमा विभिन्न सेवामा छुट दिएको छ। टेलिकमले जिएसएम र सिडिएमए सेवामा कम्पनीभित्रको नेटवर्कमा एसएमएस गर्दा ५० प्रतिशत छुट दिएको छ भने जिएसएम सिडिएमए प्रिपेड तथा पोष्ट मोबाइल सेवामा १० प्रतिशत छुट दिएको छ। छुट सुविधा सोमबारदेखि लागू हुनेछ ।

NTCविगतमा फुलपातीदेखि नै दिंदै आएको चाडपर्व अफर यसपाली टेलिकममा इन्जिनियरहरुको आन्दोलनका कारण ढिलो भएको हो। शुक्रवार आन्दोलित कर्मचारी र व्यवस्थापनबीच छलफल भएर आन्दोलनलाई स्थगित गरेपछि आइतवार निर्णय गरेर सोमबारदेखि छुट दिएको हो।

सोमबारदेखि असोज २१ गतेसम्म र कार्तिक ४ देखि कार्तिक १३ गतेसम्म छुट रहने छ। छुटपछि जिएसएम सिडिएमए पोष्टपेड मोबाइलमा प्रतिमिनेट ९० पैसा र जिएसम सिडिएमए प्रिपेड मोबाइलबाट प्रतिमिनेट १ रुपैयाँ ३५ पैसामा कल गर्न सकिनेछ। छुट अवधिमा एसएमएस ५० पैसामा गर्न सकिन्छ।

कम्पनीले पिएसटिएन र सिफोन सेवाका ग्राहकलाई पनि २ सय ७५ कल निशुल्क उपलब्ध गराउने भएको छ। यसअघि न्यूनतम मासिक महसुल रु २०० मा १७५ स्थानीय कल कम्पनीले निशुल्क उपलब्ध गराउँदै आएको थियो। त्यस्तै अन्तरदेशीय कलको विद्यमान महसुल दरमा १० प्रतिशत छुट प्रदान गरिएको छ। छुट पश्चात उक्त सेवाको महसुल दर प्रतिमिनेट ९० पैसा हुनेछ।

इन्टरनेट प्रयोगकर्ताका लागि हालको महसुल दर ५० पैसा प्रतिएमबीमा ४० पैसा प्रतिएमबी कायम गरेको छ। दसैंको अवधिमा अवधि सकिने भोल्युम बेस्ड एडिएसएल तथा वाइम्याक्स सेवाका ग्राहकहरुलाई अधिकतम ३ जिबी डाटा थप गर्ने कम्पनीले जनाएको छ। सो थप डाटा असोज २१ सम्म कायम रहनेछ। त्यस्तै तिहार र छठपर्वको अवधिमा अवधि सकिने ग्राहकहरुलाई समेत ३ जीबि डाटा थप हुनेछ। त्यस्तै असोज १४ देखि असोज २१ भित्र अनलिमिटेड एडिएस वाइम्याक्सको समय अवधि समाप्त हुने ग्राहकहरुको समयाअवधि असोज २२ सम्म तथा तिहार र छठपर्वमा सकिने ग्राहकहरुको कार्तिक १३ गतेसम्म थप हुने कम्पनीले जनाएको छ।

सिडिएमए सेवाका ग्राहकहरुलाई असोज २१ सम्म र कार्तिक ४ देखि १३ गतेसम्म प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशतसम्म बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ। सो अवधिमा प्रत्येक २ सय रुपैयाँ रिचार्ज गर्दा २० र ५ सय रिचार्ज गर्दा ७५ तथा १ हजार रुपैयाँ रिचार्ज गर्दा २ सय बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us