
काठमाण्डु, १२ असोज– नेपालको स्थापित औद्योगिक घराना दुगड ग्रुपका प्रमुख मोती दुगड नेतृत्वको नवनेपाल निर्माण पार्टी नेकपा एमालेमा बिलय भएको छ ।
दुगडसहित सो पार्टीमा रहेका करिब दुई दर्जन उद्योगी–व्यवसायी एमाले मुख्यालय बल्खुमा कार्यक्रम गरी पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी सदस्यता प्रदान गरे ।
कार्यक्रममा दुगडले नवनेपाल निर्माण पार्टी एमालेमा बिलय भएको घोषणा गरेका थिए । दोश्रो संविधानसभा निर्वाचनमा सहभागी भएको दुगडको पार्टीले एक सिट पनि जित्न सकेको थिएन ।
अघिल्लो संविधानसभामा उनी सरिता गिरी नेतृत्वको सदभावना पार्टीबाट सभासद भएका थिए । कार्यक्रममा उनले एमालेको उद्योगमैत्री नीतिबाट आफू प्रभावित भएको बताए ।
बन्द हड्ताल नगर्ने चुनावी घोषणापत्र व्यवहारमा उतारेका कारण उद्योगी–व्यवसायी एमालेप्रति आकर्षित भएको उनको भनाइ थियो । दुगडले युवा संघ अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री भएपछि व्यवसायीले राज्यबाट उद्योगमैत्री व्यवहार पाएको दाबी गरे ।