काठमाण्डु, ११ असोज– प्रतिबन्धित दुर्लभ वन्यजन्तु सालक कारोबार अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा १५ वर्षे कैद सजाय काटिरहेका चिनियाँ कैदीलाई प्रहरीले अस्पताल लैजाने बहानामा उनकै प्रेमिकालाई सुम्पेको अनुसन्धानमा खुलेको छ ।
नक्खु कारागारका तीन प्रहरी र अस्पताल नाइकेले त्यहाँ रहेको चिनियाँ कैदी जु याङ वालाई असोज ६ गते मिलेमतोमा भगाएका थिए । घटनाको अनुसन्धानका लागि गठित समितिले वालाई प्रहरी टोलीले दाँतको उपचार गराउन पाटन अस्पचाल लैजाने भन्दै नजिकैको गेस्ट हाउस पुर्याएर चिनियाँ प्रेमिकालाई जिम्मा लगाएर भागेको सूचना दिएको खुलासा गरेको हो ।
प्रहरीले घटनामा संलग्न तीन प्रहरीलाई निलम्बन गरी अनुसन्धान बढाएको छ । चिनियाँ कैदीको नेपाली प्रेमीकासमेत पक्राउ परिसकेको र भागेको कैदी यतै लुकेको आशंकामा खोजिरहेको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ ।
नागरिक दैनिकबाट