नुवाकोट, ११ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिवंगत नेता पोष्टबहादुर बोगटीलाई सम्झिएर रोएका छन् ।
निधन भएको १३ औं दिनको अवसरमा बोगटीको जन्मस्थल नुवाकोटको तुप्चेमा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा उनी पटकपटक भक्कानिएका थिए । उनले बोगटीको निधनले मुलुक र जनतालाई ठूलो क्षति पुगेको बताए । नेता बोगटीले समयन्वयकारी भूमिकामार्फत दिएको एकताको सन्देशलाई आत्मसाथ गर्दै अघि बढ्ने उनले बताए ।
पार्टीमा देखिएका गुट मिलाउन बोगटीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । समन्वयकारी भूमिका निर्वाह गर्दागर्दै भएको बोगटीको निधनले आफू र पार्टीपंक्तिलाई दु:खित तुल्याएको उनको भनाइ थियो । ‘नारायणकाजी, बाबुराम र मलाई मिलाउनका लागि बोगटीको भूमिका महत्वपूर्ण थियो, प्रचण्डले भने, ‘मिलाउने प्रयासमा लाग्दालाग्दै अचानक भएको मृत्युले सिंगो राष्ट्र दु:खी भएको छ । उहाँको मृत्युले पार्टीलाई एक ढिक्का बनाउने सन्देशसमेत दिएको छ ।’
प्रचण्डले बोगटीले थालेका अधूरा काम पूरा गर्नका लागि ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को स्थापना गरी सोही संस्थामार्फत सामाजिक विकास, मानवीय सेवा र विकासका अपूरा कामको थालनी गरिने घोषणासमेत गरे ।
कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको आन्तरिक विवाद चुलिएका बेला भएको बोगटीको दु:खद निधनले एकताको सन्देश दिएको बताए ।
कार्यक्रममा बोगटी परिवारको तर्फबाट ‘बोगटी सक्रिय पत्रकारिता पुरस्कार’ को समेत घोषणा गरिएको छ । बोगटीका ज्वाई निर्मल आचार्यले नेपाल पत्रकार महासंघको समन्वयमा परिवारले अक्षयकोषको स्थापना गर्न लागेको बताए । यस्तै बोगटीले दिएको जग्गामा निर्माण भएको चण्डेश्वरी बहुमुखी क्याम्पसको पहलमा क्याम्पस हाताभित्र बोगटीको शालिक निर्माण गरिने भएको छ ।
बोगटीकी धर्मपत्नी राममायाको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा बोगटीप्रति श्रद्धाञ्जली लिन ठूलो संख्यामा सर्वसाधारण र एमाओवादी कार्यकर्ता कार्यक्रम स्थलमा पुगेका थिए ।
गत भदौ २६ गते राति घरमै बसिरहेका बेला एकैसाथ हृदयघात र मस्तिष्कघात भएका बोगटीको ३० भदौमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।