गाउँलेबाट कुटिएकी एचआईभी संक्रमित महिलाको अवस्था गम्भीर

काठमाण्डु टुडे २०७१ असोज ११ गते ४:१८ मा प्रकाशित

डोटी– ११ असोज– एचआईभी संक्रमित रहेको आरोपमा छिमेकीबाट निर्घात कुटिएकी एक महिलाको अवस्था गम्भीर बनेको छ ।
सदरमुकाम सिलगढी बस्दै आएकी डोटी गैरागाउँ–९ की एचआईभी संक्रमित शारदादेवी धामीमाथि ८ असोजमा गाउँलेले सांघातीक आक्रमण गरेका थिए ।

गम्भीर घाइते धामीको टाउको, घाँटी र पिठ्युँमा गहिरो चोट छ । आक्रमणमा सिलगढी नाचन्थलीकी इन्दा साउद र उनकी छोरी वसन्तीसहितको संलग्नता रहेको भन्दै एचआईभी/एड्सको क्षेत्रमा क्रियाशिल संघसंस्थाले दोषीमाथि कारबाही माग गरेका छन् ।

विभिन्न लान्छाना लगाएर ज्यान मार्ने नियतसहित कुटपिट गरेको आरोप उनीहरुको छ । आक्रमणबाट गम्भीर घाइते धामीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

पटकपटक दोषीमाथि कारबाहीको माग गर्दा समेत जिल्ला प्रहरी कार्यालय डोटीले गम्भीरतापूर्वक नलिएको भन्दै डोटी जिल्लामा रहेका एचआईभी संक्रमितहरूले दोषिमाथि कारबाही नगरिए आन्दोलन गर्ने घोषणा गरेका छन्  ।
एचआईभी संक्रमितहरूको संजाल लालीगुराँस एकता समाजले एचआईभी संक्रमित महिलामाथि भएको आक्रमणका विषयमा राष्ट्रिय मानवअधिकार आयोगलगायत अधिकारवादी संघसंस्थामा उजुरी दिने तयारी भएको जनाएको छ ।

सञ्जालका सचिव तारानाथ राउतले दोषीविरुद्ध प्रहरीले उजुरी दर्ता गराउन नमानेको बताए । संक्रमित महिलालाई कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गए पनि प्रहरीले राजनैतिक दबाबमा उजुरी नलिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us