बेनी–जोमसोम सडक अवरुद्ध

काठमाण्डु टुडे २०७१ असोज ११ गते २:५२ मा प्रकाशित

म्याग्दी, ११ असोज– म्याग्दीको बेनीदेखि हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक सञ्चालन भएको एक हप्ता नपुग्दै पुन: अवरुद्ध बनेको छ ।

म्याग्दी र मुस्ताङको सीमा क्षेत्र दानादेखि घाँसासम्म करिब एक दर्जन ठाउँमा पहिरो खसेपछि करिब सात किलोमिटर सडक पैदल हिँडेर पार गर्नुपर्ने अवस्था छ ।

दानाको घट्टेखोला, रुप्से, काभ्रेभिर, बाँदरजुङ भीर, घोप्टे ओडारलगायतका स्थानमा पहिरो गएकाले सवारी साधन अवरुद्ध बनेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका निरीक्षक किशोर केसीले जानकारी दिए ।

केही दिनयता मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपनि सडक अवरुद्ध हुँदा सास्ती भएको छ । सडक अवरुद्ध हुँदा घाँसादेखि दानासम्म करिब साढे दुई घण्टा पैदल हिड्नुपर्ने भएको छ ।
धेरै ठाउँमा पहिरो गएकाले सडक सुचारु गराउन केही दिन लाग्ने निरीक्षक केसीले बताउनुभयो । गत सोमबार रुप्सेमा सडक मर्मत गरेर करिब तीन महिनापछि बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन गर्न थालिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us