काठमाण्डु, १० असोज – नेपाल सरकार र मंगोलियन नेशनल रिभोलुशनरी पार्टीवीच गत असोज ७ गते भएको सहमति शुक्रबार सो पार्टीले सार्वजनिक गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा मंगोलियन नेशनल रिभोलुशनरी पार्टीले पत्रकार सम्मेलन गरेर सरकारसँग गत ७ गते भएका ५ बुँदे सहमति आज सार्वजनिक गरेको हो ।
पार्टीका संयोजक तुकमान पुन र संबैधानिक राजनीतिक संवाद तथा सहमती समितिको प्रारम्भिक वार्ता उपसमितिका संयोजक आनन्दप्रसाद ढुंगानाले सहमतीमा हस्ताक्षर गरेका हुन् ।
पार्टीका संयोजक पुनका अनुसार सहमतिमा आफ्नो पार्टीले आगामी दिनमा शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलाप अघि बढाउने छ । त्यस्तै पार्टीसंग रहेका पूर्ण विवरण सात दिनभित्र वार्ता उपसमितिको सचिवालयमार्फत सरकारलाई हतियार बुझाउने, पार्टीका बन्दी नेता तथा कार्यकर्ताको रिहाईका लागि प्रारम्भिक वार्ता उपसमितिले नेपाल सरकारलाई आवश्क पहल गर्ने विश्वास दिलाएको छ ।
यस्तै आगामी संविधानमा पार्टीबाट प्राप्त संविधानसम्बद्ध मागलाई समितिको बैठकमा प्रस्तुत गर्ने विश्वास पनि दिलाएको पुनले बताएका छन् । उनले वार्ताको क्रममा आवतजावत गर्दा पार्टीका नेता तथा कार्यकर्ताहरुको पूर्ण सुरक्षाको प्रत्याभूति वार्ता उपसमितिले दिलाउने पनि जनाएका छन् ।
पुनले आफ्ना २६ बन्दी कार्यकर्ताहरुको तत्काल रिहाइको माग समेत गरेका छन् ।