
काठमाण्डु, ९ असोज– दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा भाग लिन गएका सेपाकताक्रो खेलाडी अमन पोडे उतै लुकेका छन् ।
उनी बुधबार बिहान साढे दुई बजे खेलाडीहरुलाई राखिएको भिलेजबाट भागेका हुन् । पोडेबाहेकको सपाकताक्रो टोली निर्धारित कार्यक्रमअनुसार बुधबार इन्चोनबाट काठमाण्डुका लागि हिँडेको छ ।
इन्चोनमा रहेका नेपाली खेल पत्रकारहरुका अनुसार मंगलबार दिनभरि पोडे टिम व्यवस्थापक तथा अन्य खेलाडीसँग घुमेका थिए । राति तीनजना साथीसँगै सुतेका थिए । बिहान कसैलाई थाहै नदिई उनी भिलेजबाट बाहिरिएका थिए । त्यसपछि उनी कसैको सम्पर्कमा आएनन् ।
नेपाली सेनाका डेपुटी सेफ दी मिसन राजिव श्रेष्ठले पोडे भागेको पुष्टि गरे । उनका अनुसार पोडेले सेपाकताक्रो संघ तथा ओलम्पिक कमिटिले दिएका सामान कोठामै छोडेर गएका छन् ।
आवश्यक लुगा मात्र साथीको झोलामा बोकेर उनी भागेको श्रेष्ठले बताए । पोडेको पासपोर्ट नेपाली खेल व्यवस्थापकहरुले राखेका छन् ।
नयाँ पत्रिका दैनिकबाट