फिफाको नजर विमल घर्तीमगरमाथि

काठमाण्डु टुडे २०७१ असोज ८ गते ३:०२ मा प्रकाशित

काठमाण्डु, ८ असोज– खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो । नेपाललार्इ ०–१ले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक पुगिसकेको थियो । घरेलु मैदानमै राष्ट्रिय bimal-ghartiटोली पछारिने अवस्थाले दर्शक निराशामा डुबेका थिए । कति त धमाधम रंगशाला बाहिरिदैं थिए । अन्तिम केही सेकन्डमा यस्तो आँधी आएजस्तो भयो, जसले खेलको रुपरेखा नै फेरिदियो ।
वैकल्पिक खेलाडीका रुपमा भित्रिएका जर्सी नम्बर २५ का एक युवा खेलाडीले घिटिघिटीको अवस्थामा गोल ठोकिदिएर नेपाली टोलीको प्राण जोगाइदिए । पराजयको हतासाले सामसुङ भइसकेका दर्शकमा अकस्मात सास भरियो ।
गोल गरेर खेल बराबरीमा ल्याएका ती युवा खेलाडी जर्सी फुकालेर आफ्नो खिरिलो नांगो ज्यान देखाँउदै मैदानमा कुदे । दर्शकदीर्घा उनको नाम लिएर चिच्याउन थाल्यो, विमल‘ विमल‘ विमल‘।’
एक मिनेटअघिसम्म फुटबल जगतमा विरलै चिनिएका विमल घर्तीमगर आफ्नो त्यही बराबरी गोलबाट एकाएक युवा स्टारका रुपमा उदाए । र, नेपाललाई साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनल पुर्‍याउन सफल भए ।
त्यसयता नेपाली फुटबलमा नयाँनयाँ कीर्तिमान बनाउँदै युवा वर्ष खेलाडीबाट सम्मानित विमलको चर्चा युरोपेली क्लब एन्डरलेकको युवा टोलीमा अनुवन्धित भएपछि झनै चुलियो ।

कम समयमै लोकप्रियताको सिँढी चढ्दै गरेका विमलले अर्को ख्याती कमाएका छन् ,विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आधिकारिक वेभसाइट (फिफा डटकम) मा आफ्नो उपस्थिति जनाएर । फिफाले विमलको खेल कौशल र लोकप्रियताको पहिचान गर्दै मंगलबार उनको कथालाई आवरण बनाएको थियो, जसमा उनको उदाउँदो करियरबारे वर्णन गरिएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us