
दक्षिण कोरिया, ५ असोज – चीनीयाँ खेलकुदमन्त्री लिउ पेङले मकवानपुरको हेटौडामा अत्याधुनिक सुबिधायुक्त खेलकुद प्रतिष्ठान (स्पोर्टस एकेडेमी ) निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
१७ औँ एशियाली खेलकुद प्रतियोगिताका क्रममा दक्षिण कोरियाको ईन्चोनमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल नेतृत्वको नेपाली प्रतिनिधीमण्डलसंगको भेटमा चीनीयाँ मन्त्री लिउले आफूहरु नेपालको खेलकुद विकासमा ठोस योगदान गर्न ईच्छुक रहेको भन्दै हेटौडामा खेलकुद प्रतिष्ठान निर्माणका लागि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
भेटमा उनले नेपालको विकास निर्माणका साथै खेलकुदको क्षेत्रमा पनि आधुनिक सिप र प्रबिधी उपलब्ध गराउने बचन दिए । मन्त्री लिउले हेटौडामा निर्माण हुने खेल प्रतिष्ठान निर्माणका लागि ठोस प्रस्ताव जतिसक्दो छिटो चीन सरकारलाई उपलब्ध गराउन आग्रह गरे । नेपालको खेल जगतमा आफुहरुले उपलब्ध गराउने सहयोगले दुई मुलुकबिचको ऐतिहासिक सम्बधलाई थप उचाईमा पुर्याउने उनको भनाई छ । उनले मन्त्री पौडेलले गरेको नेपाल भ्रमणको निमन्त्रणालाई स्विकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।
भेटमा नेपालका तर्फबाट युवा तथा खेलकुद मन्त्री पौडेलले चिन सरकारले नेपालको बिकासमा प्रदान गर्दै आएको सहयोगको प्रसंसा गर्दै खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग उपलब्ध गराउनेमा आफु बिश्वस्त रहेको बताए । मन्त्री पौडेलले खेलकुद क्षेत्रमा चिनले प्रदान गर्ने सहयोगबाट दुई मुलुकबिचको सम्बन्ध बिस्तारमा थप उर्जा प्राप्त हुने अपेक्षा व्यक्त गरे । मन्त्री पौडेलले नेपाल संधै एक चिन नीतिप्रती प्रतिबद्ध रहेको भन्दै नेपालमा कुनैपनि चिन बिरोधी गतिबीधी नहुनेमा ढुक्क रहन आग्रह गरे ।
भेटमा नेपाल ओलम्पिक कमिटीका महासचिब जीवनराम श्रेष्ठले नेपालको खेल क्षेत्रको विकासमा योगदान गर्ने चिन सरकारको यस कदमले नेपाली खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटनमा ठुलो योगदान पुग्ने बिश्वास ब्यक्त गरे ।
भेटमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डि शेर्पा, युवा तथा खेलकुद मन्त्रालयका सह सचिब चुडामणी पौडेल र नेपाल सुटिङ संघका महासचिब रन्जन श्रेष्ठको सहभागिता थियो ।