राम कार्कीको नजरमा यस्ता थिए पोष्टबहादुर

काठमाण्डु टुडे २०७१ असोज ९ गते ४:४९ मा प्रकाशित

postbahadur1म रामराजाप्रसाद सिंहको जनवादी मोर्चामा थिएँ । जनवादी मोर्चाको उद्देश्य राजतन्त्र फालेर गणतन्त्र ल्याउनु थियो । जनवादी मोर्चा परित्याग गरेर तत्कालिन चौथो महाधिवेशनसँग नजिक भइसकेको थिएँ । चौथो महाधिवेशनलाई त्यतिबेला मसाल भन्ने । पछि दुईटा मसाल भयो, तर त्यतिबेला एउटै थियो ।  तर मलाई सगरमाथा अञ्चलको प्रशासनले सके गिरफ्तार गर्न र नसके सुट गर्न आदेश दिएको थियो । मेरो खोजी चौतर्फी थियो । काठमाण्डुमा भूमिगत अवस्थामा पोष्टबहादुर बोगटीसँग भेट भयो । यो करिब ४० सालतिरको कुरा होला । उहाँलाई आफ्नै गाउँको स्कुलका लागि शिक्षक चाहिएको रहेछ ।

म पढाउनकै लागि बागलुङको बलेवा जाने तयारीमा थिएँ । बोगटीले मलाई तुप्चे लैजान कर गर्नुभयो । तर मेरो सर्त थियो कि, मात्र जागिर खान जान्न, पार्टीको काम पनि सँगसँगै गर्ने भए जान्छु । मेरो सर्त उहाँलाई मञ्जुर भयो । म पठाउन भनेर नुवाकोटको तुप्चे गएँ । त्यहाँ चण्डेश्वरी मावि भन्ने पूरानो विद्यालय छ । अहिले त्यो सकुल उच्चमावि र क्याम्पससम्म विस्तार भएको छ भन्ने सुनेको छु । उहाँले चण्डेश्वरी स्कुललाई यहाँसम्म ल्याउन ठूलो योगदान गर्नुभएको छ । स्कुलको भवन बनाउन उहाँले दुई रोपनीभन्दा बढी जमिन निशु:ल्क रुपमा दान गर्नुभएको थियो । हामी काठमाण्डुबाट गयौं । सुरुको केही दिन उहाँकै घरमा बसें । त्यसपछि केही माथि मेरो लागि बस्ने डेराको व्यवस्था उहाँले नै मिलाउनुभयो । म दिनभर स्कुलमा अंग्रेजी पढाउँथें । राति, साँझपख वा बिहानको झिस्मिसेमा हामी पार्टीको संगठन बनाउन हिंड्थ्यौं । कहिले विद्यार्थीहरुलाई त्रिशूलीको किनारमा लगेर माक्र्सवाद र संघर्षबारे प्रशिक्षण दिन्थ्यौं र त्यहीं संगठन बनाउँथ्यौं ।

कुशल संगठक
पोष्टबहादुर बोगटी आफैंमा एउटा कुशल संगठक हुनुहुन्थ्यो । नुवाकोटमा गणेश पण्डित भन्ने नाम चलेका कम्युनिष्ट नेता थिए । तर कहिल्यै संगठन नबनाउने । शिक्षक भएकाले बामपन्थी शिक्षक भनेर सबै पछि लाग्थे, तर पण्डितले संगठन बनाएको मलाई थाहा छैन । नुवाकोटमा कम्युनिष्टहरुको संगठन गर्ने श्रेय बोगटीलाई नै जान्छ । आँखामा हाल्दा पनि नबिझाउने चरित्र थियो । बोगटी सामाजिक, व्यवहारिक, सरल र विवेकी मान्छे हो । जनताहरुलाई आफ्नो योजनामा परिचालन गर्ने खुबी थियो । पञ्चायती प्रशासनले मलाई पटकपटक गिरफ्तार गरेर विदुर लान्थ्यो । सयौं मानिसहरु रिहाइको माग गर्दै प्रहरी थाना घेर्न जान्थे र छुटाएर ल्याउँथे । यो काम उहाँ आफू पर्दा पछाडि बसेर गर्नुहुन्थ्यो । नुवाकोटको राजनाीतिमा त्यतिखेर गुण्डागर्दी खुब चल्थ्यो । पञ्चहरुले हाम्राविरुद्ध गुण्डा प्रयोग गर्थे । उहाँ असाध्यै बलियो मान्छे, गुण्डाहरुसँग भिड्नुहुन्थ्यो । गुण्डासँग भिड्न हामीलाई सघाउने दिलीप चौधरी र अमर प्रधानलगायतका साथीहरु थिए । दिलीप बोगटीले असाध्यै रुचाएका व्यक्ति । साह्रै लडाकु हुनुहुन्थ्यो दिलीप पनि । पछि उहाँ तुप्चे बस्नै नसक्ने भएपछि काठमाण्डु आउनुभयो । २०४२ सालको बाम काण्डका बेला गिरफ्तार गरेर बेपत्ता पारियो । तुप्चे र नुवाकोटलाई कम्युनिष्ट किल्ला बनाएको उहाँले नै हो ।
पौडी बाज
बोगटी पौडी खेल्न असाध्यै सिपालु । म पनि पौडी राम्रै खेल्ने । उहाँको घरमुनिबाट त्रिशूली खोला बग्छ । साउन–भदौको उर्लिएको भेलमा पनि हामी त्रिशूलीमा बाजी राखेर पौडी खेल्थ्यौं । तुच्चेको पारिपट्टि मानेगाउँ भन्ने ठाउँछ । म बिहान झिस्मसमै उठेर संगठनको काममा गएको थिएँ । राति काठमाण्डुमा बम पड्किएछ । यो २०४२ सालको बम काण्डको कुरा हो । राति नै मलाई गिरफ्तार गर्न भनेर गाउँ नै घेरा हालेछ प्रहरीले । म बस्ने घरको ११ वर्षका बालकसहित तुप्चेका ११ जनालाई पक्रेर लगेछ । गणेश पण्डितसहित अरु १६ जनालाई विभिन्न ठाउँबाट समातिएछ । म मानेगाउँबाट तुप्चे आएँ । बोगटीको घरमुनि पँधेरामा भेट भयो ।

बम पड्किएको र राति गाउँमा भएको घटना सुनाउनुभयो । मलाई नभेटेपछि अरुलाई लगिएको रहेछ । उहाँले सोध्नुभयो, बम कसले हानेको होला ? मैले भनें, रामराजाबाहेक यो देशमा बम पड्काउन सक्ने हैसियतको मान्छे छैन । पछि थाहा भयो मेरो त्यो दाबी ठीक रहेछ  । त्यसपछि उहाँले अर्को प्रश्न गर्नुभयो, ‘अब तपाईंलाई के गर्छ ?’ मलाई त्यतिबेला पनि प्रशासनले रामराजाकै मान्छे ठान्थ्यो । मेरो खास नाम सुरेन्द्र कार्की । यो नाम खुब खोजिएको थियो ।

म राम कार्की भएर तुप्चे बसेको थिएँ । तर प्रशासनले त्यो कुरा चाल पाइसकेको थियो । मैले उहाँलाई भनें कि म बसेको घरको ११ वर्षको बालकलाई नछोड्नेले मलाई बाँकी राख्ला र ? त्यसपछि उहाँले मलाई काठमाण्डुमा पार्टी हेर्डक्वाटरको सम्पर्कमा पठाउनुभयो । उहाँका आफन्त कृष्ण अधिकारीले मलाई काठमाण्डु लिएर आउनुभयो । केही दिन काठमाण्डुमा भूमिगत बसें । सरकार नियन्त्रित रेडियो नेपालले नुवाकोटको तुप्चेमा विस्फोटक पदार्थ भेटियो, आतंककारी नाइकेको खोजी जारी भनेर समाचर आयो । त्यो आतंककारी बोगटी र म थियौं ।
अन्तर्संघर्षमा पनि सकारात्मक भूमिका
हाम्रो पार्टी इतिहासमा धेरै पेचिला अन्तरसंघर्षहरु भएका छन् । चर्चित फुन्टिवाङ बैठकपछि हाम्रो पार्टी अहिलेसम्मकै ठूलो अन्तर्संघर्षमा फसेको थियो । त्यतिबेला उहाँ पश्चिम कमाण्ड प्रमुख हुनुहुन्थ्यो । उहाँ संस्थापन र म फरक धारमा थिए । कतिपयले हामीलाई फरक मत राखेकै आधारमा पार्टीभित्र अपमानित गर्ने र आतंकित पार्ने गतिविधि गरे ।  तर उहाँले कहिल्यै त्यसो गर्नुभएन । बरु त्यस्तो अवस्थामा समेत आत्मीयता र निकटता देखाउनुहुन्थ्यो पहिले जत्तिकै हाँसो ठट्टा गर्नुहुन्थ्यो ।

राजनीतिक जीवनभर उहाँले आफू महत्वपूर्ण मानिस हुँ भन्ने अहमता  देखाउन खोजेको मलाई सम्झना छैन । बहसका क्रममा म प्रचण्ड र बाबुराम भट्टाईसँग आक्रोशित हुँदा जहिले पनि समातेर सन्तुलनमा ल्याउने काम गर्नुहुन्थ्यो । यस्तो सम्बन्ध थियो कि उहाँले मलाई र मैले उहाँलाई जे पनि भन्न सक्ने । उहाँलाई देखेपछि न्यायो महसुस हुन्थ्यो । निकै भरोसा लाग्दो नेता हो । उहाँ मन्त्री भएपछि पनि जीवन्त कुरा भयो । हाम्रो बीचमा यस्तो सहमति भयो कि व्यक्तित्वमा दाग लाग्ने ठाउँमा कतै पनि सही नगर्ने । बरु आफ्नो जीवनमा गरिबीले कहिल्यै नछाडोस् ।

समाजसेवी र श्रमिक नेता
बोगटीजी नेताका रुपमा चिनिनुभन्दा पहिला सामाजसेवीको हैसियत थियो । मैले जुन स्कुलमा पढाएँ त्यो स्कुलका लागि उहाँले आफ्नो भएको जग्गा सबै नि:शुल्क दान दिनुभएको थियो । त्यसअघि पनि उहाँले साना किसान सहकारी जस्ता धेरै संस्थामा अगुवा बनेर काम गर्नुभएको थियो । स्वभाविक रुपमा चण्डेश्वरी उच्च माविलाई अहिलेको ठाउँमा ल्याउन उहाँको अग्रणी भूमिका छ । विकास र सामाजिक प्रगतिका कुरामा सधैं चासो राख्ने मान्छे हो । बोगटीको परिवार असाध्यै परिश्रमी थियो । आमाबुबा सबैले काम गर्नुहुन्थ्यो । उहाँ पनि श्रम गरेर खाने गर्नुहुन्थ्यो । श्रमिक र समाजसेवी भएपछि मानिस परिचालन गर्न आफ्ना कुरा बुझाउन सजिलो हुँदो रहेछ भन्ने मैले उहाँको जीवनबाटै सिकेको हुँ । विरोधीहरुलाई पनि उहाँप्रति त्यत्तिकै विश्वास थियो । वास्तवमा मैरीको रानोजस्तो व्यक्तित्व थियो । त्यस्तो पृष्ठभूमिबाट आएर यो स्तरमा पुग्ने कुरा चानचुने थिएन ।

न्युट्रोनको जस्तो समन्वयकारी चरित्र
इलेक्ट्रोन र प्रोटोनलाई न्यूट्रोनले सन्तुलनमा राख्ने काम गरेजस्तै थियो पार्टीमा उहाँको भूमिका । पार्टीमा उहाँको कुनै छुट्टै एजेण्डा हँुदैनथ्यो । त्यसैले उहाँमा अरुमा भन्दा नैतिक बल थियो । मैले बाबुराम भट्टराईको नजिक भएर धेरै वर्ष काम गरेको छु । बाबुरामले पनि आदर गर्ने नेता हुनुहुन्थ्यो । अध्यक्ष र बाबुरामको टक्कर परेका बेलामा सधैं बीचमा बसेर मिलाउने भूमिका खेल्नुहुन्थ्यो । अध्यक्षको त सबैभन्दा भरोसायोग्य नेता हुनुहुन्थ्यो । कसैलाई चिढ्याउने बानी थिएन । तर, हक्की स्वभावका कारण प्रचण्ड वा बाबुरामलाई सबै
कुरा खुलेर भन्न हक्नुहुन्थ्यो । बाबुरामजीको क्याम्पमा धेरै वर्ष बसें, तर गुटकै मिटिङमा पनि बोगटीका बारेमा नराम्रो कुरा भएको मलाई याद छैन ।
सन्तुलनकारी नेताको अभाव
हाम्रो पार्टीमा बोगटीजस्तो सन्तुलनकारी भूमिका खेल्ने नेता अब छैन । पछिल्लो अन्तसंघर्ष व्यवस्थापनमा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो । त्यस क्रममा अध्यक्ष प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठसँग बाक्लो भेटघाट र संवाद गरिरहनुभएको थियो । घटना हुनुभन्दा एक  साताअघि हाम्रो बाबुरामजीको निवासमा भेट भएको थियो । म पार्टी मिलाएरै छाड्छु भन्ने अठोट उहाँको थियो । उहाँसँग पार्टीमा सबैले सुख दु:खका कुरा गर्थे । यतिसम्मकि प्रचण्ड र बाबुरामले पनि उहाँसँग गुनासो गर्ने गरेको हामीलाई थाहा छ । त्यो अभाव हामीलाई लामो समयसम्म खड्किने छ । उहाँसँग पार्टीभित्र र बाहिर व्यक्तिगत रुपमा कसैको पनि सत्रुता थिएन ।

स्वअध्ययनले माथि पुर्‍याएको नेता
उहाँले औपचारिक रुपमा कक्षा ८ सम्मको मात्र अध्यनन गर्नुभएको थियो । तर उहाँले गर्ने बहस, विचार निर्माणमा खेलेको भूमिका, चेतना, विषयवस्तुबारेको गहिरो जानकारी हेर्दा उहाँले कक्षा ८ सम्म मात्र पढेको हो भन्ने विल्कुल अनुभुति हुने थिएन । किनकी उहाँ अत्यन्तै अध्ययनशील मान्छे हो । स्वअध्ययनले नै उहाँलाई यो उचाएमा पुर्‍याएको हो । माक्र्सवाद, राजनीतिक अर्थशास्त्र, समाजवाद, मनोविज्ञान, इतिहास आदि विषयमा गहन अध्ययन गर्नुभएको थियो । ८ क्लास पढेको मान्छे ‘पेकिङ रिभ्यु’ जस्तो अ्रंग्रेजीमा लेखिएको किताब पढ्नुहुन्थ्यो । सायदै मानिसमा त्यस्तो क्षमता हुन्छ । उहाँलाई हृदयघात हुनुभन्दा पाँच दिनअघि हामी बाबुरामजीकोमा जम्मा भएका थियौं । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय के भइरहेको छ, जानकारी पाउँ है भन्नुभएको थियो । विषयवस्तु बुझ्न सधैं उत्सुक भइरहने स्वभाव थियो ।

कहिल्यै बार्गेनिङ नगर्ने नेता
सुदूरपश्चिमको संगठन कमजोर थियो । २०४८ सालको एकता महाधिवेशनपछि उहाँलाई पार्टीले सुदूरपश्चिम पढायो । त्यो निकै अप्ठेरो जिम्मेवारी थियो । नुवाकोटको मान्छे सुदूरपश्चिमको जिम्मा लिएर खुसी भएर जानुभयो । जानु मात्र भएन काम पनि गर्नुभयो । सून्य अवस्थामा रहेको संगठनलाई विस्तार गरेर आधार इलाका बनाउनुभयो । पार्टीमा कहिल्यै सत्ता र शक्तिको बार्गेनिङ गर्नुभएको थाहा छैन । जुनसुकै भूमिका दिए पनि चुप लागेर काम गर्नुभयो । अप्ठेरोमा काम गर्न रमाउने स्वभाव भएको मान्छे हो । आचरण र व्यवहार पनि त्यत्तिकै सफा थियो ।  पछिल्लो समय पार्टीका नेता कार्यकर्तामा आचरणमा स्खलन हुने क्रम बढेकामा निकै क्षुब्ध हुनुभएको थियो । पछिल्लो केन्द्रीय समितिको बैठकमा उहाँले त्यसबारे ‘स्ट्रोङ’ अभिव्यक्ति दिनुभएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us